घोराही, ४ मङ्सिर: नेपाली काङ्गे्रसका नेता प्रकाशमान सिंह श्रेष्ठले आफूहरुले पार्टी सभापति विरुद्धमा गुटबन्दी नगरेको स्पष्ट पार्नुभएको छ । नेपाल प्रेस युनियन दाङले आज यहाँ आयोजना गरेको पत्रकार भेट्घाट कार्यक्रममा उहाँले बहुमतको नाममा पार्टीभित्र एकलौटी निर्णय गर्न थालेपछि पार्टी सभापतिलाई विधिसम्मत चल्न मात्र आगह गरेको धारणा राख्नुभयो । उहाँले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसकेको समयमा पार्टी पुरानै ढर्रामा चलेको हुदाँ त्यसलाई आफूहरुले सुधारको प्रयास थालेको जानकारी गराउनुभयो ।
पार्टीका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता सिंहले पार्टी नीति विपरित सभापतिले काम गरेको आरोप लगाउनुभयो । “पार्टी नीति र विधिसम्मत हुनुपर्छ भन्ने हाम्रो आवाज छ”, उहाँले भन्नुभयो, “हामी पार्टीलाई सुधार गरेरै छोड्छौ ।” उहाँले पार्टीको नेतृत्व शैली एवं विधानसमेत एकात्मक भएको हुदाँ लोकतान्त्रिक परिपाटी निर्माण गर्न गृहकार्यमा जुटेको धारणा राख्नुभयो । नेता सिंहले सरकारले चुनावमा जनाएको प्रतिबद्धताअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।
-रासस