झापामा आलुखेतीमा प्रोत्साहन

कृष्ण रोकाया

बनियानी, ६ मङ्सिर : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु पकेट क्षेत्र घोषणा गरिएको झापा कमल गाउँपालिका–२ का कृषक आलुखेती विस्तारमा जुटेका छन् ।

आधुनिक कृषि–प्रविधिको प्रयोग गर्दै यहाँका कृषक सामूहिक खेती गर्दै खेती विस्तारमा जुटेका हुन् । गत वर्ष आलु पकेट क्षेत्र घोषणा भएपछि यहाँका कृषकले १८ बिघामा आलुखेती गरेका थिए भने यस वर्ष खेती विस्तार गर्दै ४० बिघामा आलुखेती गर्न लागिएको आलु पकेट क्षेत्रका संयोजक यामबहादुर राईले जानकारी दिनुभयो । “आलु पकेट क्षेत्रलाई घोषणा भएपछि यहाँका कृषक सामूहिक अग्र्यानिक आलुखेतीतर्फ आकर्षित भएका छन्”, संयोजक राईले भन्नुभयो, “यहाँका ६० जना कृषकले अहिले तीन वटा समूह बनाएर सामूहिक आलुखेती गरिरहेका छन् ।” कृषक राधा आचार्यले आफूले आठ कट्ठामा आलुखेती गरेको बताउनुभयो । “आलुखेतीबाट राम्रो आम्दानी लिन सकिने रहेछ”, उहाँले भन्नुभयो, “यहाँको माटो पनि आलुखेतीका लागि उपयुक्त छ ।”

गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले कृषिमा आधुनिकीकरण गर्ने योजनाअनुरुप कृषकलाई सहयोग गरिरहेको बताउनुभयो । “प्राङ्गारिक मल उत्पादन र वितरण गरिरहेका छौँ”, अध्यक्ष काफ्ले भन्नुभयो, “अग्र्यानिक गाउँपालिका बनाउन कृषकसँग छफलका साथै विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएका छौँ ।” गाउँपालिकाले प्राङ्गारिक मल उत्पादन गर्न गत वर्ष रु पाँच लाख र यस वर्ष रु १० बजेट विनियोजन गरेको छ भने कृषि क्षेत्रको विकासका लागि रु दुई करोड बजेट छुट्याएको छ ।

आलु पकेट क्षेत्रलाई बढाएर ब्लक, जोन हुँदै सुपरजोन बनाउने लक्ष्यका साथ गाउँपालिका अघि बढेको गाउँपालिका उपाध्यक्ष बेणु शिवाकोटीले बताउनुभयो । “अहिलेसम्म हामी परम्परागत रुपमै खेती गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “कृषिलाई आधुनिकीकरण नगरेसम्म समृद्धि हासिल हुन सक्दैन, त्यसैले गाउँपालिकाले कृषिलाई विशेष प्राथमिकता दिएको छ ।”

यहाँस्थित आइपिएम कृषि सहकारीले कृषकलाई तरकारी खेतीमा सहयोग गर्दै आएको छ । मल, उन्नत जातको बीउ, जैविक विषादीलगायत कृषकलाई उपलब्ध सहकारीले सहयोग गरिरहेको सहकारीका कोषाध्यक्ष टङ्क कट्टेलले बताउनुभयो । गत वर्ष १८ बिघामा गरिएको आलुखेतीबाट एक हजार १०० मन आलु उत्पादन भएको बताउँदै उहाँले भन्नुभयो, “यो वर्ष क्षेत्रफल बढाएर आलुखेती गरिएको छ, यस वर्ष ६ हजार ५०० मन आलु उत्पादन गर्ने लक्ष्य छ ।”

आलुखेतीका लागि स्थानीय किसानलाई आवश्यक तालीम र उपकरणमा कारितास नेपालले सहयोग गरिरहेको छ । कारितासका कार्यक्रम अधिकृत देवेन्द्र पोखरेलले समूह गठन गरी किसानलाई आलुखेतीका लागि प्रोत्साहित गर्नाका साथै कृषि औजार खरीदमा सहयोग गरिएको जानकारी दिनुभयो । कृषकले खेतमा डेजिरे, कार्डिनल, खुमल, खुमल रातोलगायत उन्नत जातका आलुका बीउ रोपेका छन् । अरू आलु रोपेको चार महीना फल्ने र यी जातका आलु तीन महीनामै फल्ने कृषि ज्ञान केन्द्र (साबिक जिल्ला कृषि विकास कार्यालय) झापाका वरिष्ठ प्राविधिक खिरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया