धरातलीय आवश्यकताका आधारमा विकास कार्य योजना निर्माण गर्नुपर्छ: डा झा

admin

जनकपुरधाम, ६ मङ्सिर : राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले प्राप्त तथ्याङ्कका आधारमा विकास कार्य योजना निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको छ । आयोगद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “तथ्याङ्क धरातलीय ऐना झैँ भएकाले सोही अनुरूप तीन वटै तहका सरकारले आ–आफ्नो क्षेत्रको आवश्यकतालाई मनन गरी विकास कार्य योजना निर्माण गर्नुपर्दछ ।”

सदस्य डा झाले प्रदेशका कार्य योजना निर्माण प्रक्रियामा एकरूपता र समझदारी कायम गराउन अवधारणा र आवधिक योजना तर्जुमा प्रक्रियाको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, अन्तर सम्बन्ध तथा सामञ्जस्यतासम्बन्धी अभिमुखीकरण आयोगले गराइरहेको जानकारी दिनुभयो ।

राष्ट्रिय योजना प्रणालीसँग प्रदेश र स्थानीय तहको योजना प्रणालीलाई सामञ्जस्य बनाई प्रदेश र स्थानीय तहको आवश्यकता र प्राथमिकतालाई सम्बोधन गर्दै लक्ष्य हासिल गर्नुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा उहाँले विकाससम्बन्धी सवालमा तीनै तहका सरकारबीच आउन सक्ने बुझाइको भिन्नता, सम्भावित अन्तर विरोधको निराकरण गरी राष्ट्रिय विकासको मूल लक्ष्यमा ऐक्यबद्धता कायम गर्नु जरूरी छ भन्नुभयो ।

प्रदेश नं २ नीति आयोगका सदस्य डा सुरेन्द्र झाले राष्ट्रिय योजना आयोगले निर्दिष्ट गरेका सिद्धान्तलाई समेटेर आयोगले धरातलीय आवश्यकताका आधारमा विकास योजना आवधारणापत्र तयारीको गृह कार्यमा जुटेको जानकारी दिनुभयो । अर्का सदस्य राजकुमार लेखीले आयोगले प्रदेशको आवश्यकतानुरूप विकास कार्य योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रतिक्रिया