सोह्र खानेपानी आयोजनाको काम शुरु

admin

गलकोट, ६ मङ्सिर: यस वर्ष बागलुङ जिल्लामा १६ वटा खानेपानी आयोजनाको निर्माण तथा स्तरोन्नतिको काम शुरु गरेको छ । सङ्घीयता कार्यान्वयनमा आएपछि पहिलो पटक गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सो आयोजनाको काम शुरु भएको हो । गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लामा नयाँ खानेपानी आयोजना निर्माण तथा पुराना खानेपानी आयोजनाको स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७५÷०७६ मा रु ६ करोड ५ लाख बजेट विनियोजन गरिएको छ । विनियोजित उक्त बजेटबाट जिल्लामा १६ वटा खानेपानी आयोजनाको काम शुरु भएको छ ।

“सङ्घीयता कार्यान्वयनका लागि नयाँ कार्यालय स्थापना गर्नुपर्ने भएकाले केही ढिला गरी आयोजना शुरु भएको छ,” प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले भन्नुभयो, “केही समयअगाडि प्रदेश मन्त्रालयअन्तर्गत खानेपानी डिभिजन कार्यालय सञ्चालनमा आएसँगै आयोजनाको कार्य शुरु गर्न थालेका छौँ ।” चरम समस्या देखिएका विभिन्न १६ स्थानमा खानेपानी व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरिएको प्रदेशअन्तर्गत खानेपानी डिभिजन कार्यालय बागलुङले जनाएको छ । तीमध्ये चार वटा आयोजना लिफ्ट प्रविधिमा निर्माण हुने जनाएको छ ।

ताराखोला खानेपानी आयोजनालाई रु ३० लाख, राजकुतलाई रु ३५ लाख, भैँसी खर्कलाई रु ४० लाख, छरछरेलाई रु ३५ लाख, सुखौरालाई रु ३० लाख, लामिचौर रमेटारलाई रु ९० लाख, रेशलाई रु ३० लाख, धम्जालाई रु ३० लाख र महभिरलाई रु ३० लाख तथा लावाङ खानेपानी आयोजनालाई रु ३० लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरी खरवाङ दनिया लिफ्ट खानेपानी आयोजनालाई रु ५० लाख, कालीगण्डकी लिफ्ट खानेपानी आयोजनालाई रु ४० लाख, जैमिनी लिफ्ट खानेपानी आयोजनालाई रु ४० लाख, बरेङ सुखौरा पम्पिङ खानेपानी आयोजानालाई रु ३० लाख, लामिचौर दलित बस्ती खानेपानी आयोजनालाई रु ३० लाख र कुस्मिसेरा खानेपानी आयोजनालाई रु २५ लाख बजेट विनियोजन गरिएको सो कार्यालयले जनाएको छ । “हामी कार्यालयमा भर्खर आई कार्य सम्पादनका कामहरु शुरु गरेका छौँ,” खानेपानी डिभिजन कार्यालयका डिभिजन प्रमुख प्रेम डोटेल भन्नुभयो, “खानेपानीका आयोजनाहरुको अध्ययन तथा कार्यान्वयनका लागि आयोजना स्थल जाने, नापजाँज गर्ने गरिरहेका छौँ ।”
-रासस

प्रतिक्रिया