शहीद स्मारक ‘ए’ डिभिजन लिग : आर्मी क्लब विजयी

admin

काठमाडौँ, ७ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई शुन्यका बिरुद्ध एक गोलले पराजित गर्दै आर्मी क्लब विजयी भएको हो । आर्मीको तर्फबाट टेकबहादुर बुढाथोकीले खेलको ३१ औँ मिनेटमा एक गोल गरेका थिए । सो गोल आर्मी क्लबको जितमा निर्णायक बन्यो ।

मध्याह्नअघिको अन्तिम मिनेटमा पुलिसले बराबरी गर्ने अवसर गुमायो । निरकुमार राईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको कडा प्रहार गोल पोष्टको केही माथिबाट बाहिरिएको थियो । खेलको अन्तिम समयमा पुलिसले पेनाल्टीको अपिल गरे पनि रेफ्री नवीन्द्र महर्जनले त्यसलाई नकारेका थिए । पुलिसका केही खेलाडी मैदानमा हातपातमा उत्रँदा स्थिति केही तनावग्रस्त बनेको थियो ।

जितसँगै आर्मी क्लब अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । आर्मीको तीन खेलमा दुई जित र एक बराबरीसँगै सात अङ्क छ । जारी लिगमा पुलिसले पहिलो हार ब्योहोरेको छ । पुलिसको तीन खेलमा एक जित, एक हार र एक बराबरीसँगै चार अङ्क बनाएको छ । जितसँगै आर्मीले जारी लिगमा अपराजित यात्रा कायमै राखेको छ ।

राष्ट्रिय टोलीका मुख्य खेलाडी नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, विकेथ कुथु, भरत खवासलगायत खेलाडीले भरिएको आर्मीसामु प्रहरीले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । अहिलेसम्म आर्मीले लिगको उपाधि जित्न सकेको छैन । पुलिसले भने छ पटक ‘ए’ डिभिजन लिगको उपाधि उचालेको छ ।
-रासस

प्रतिक्रिया