रारा ताल सफाइ अभियान गरिने

admin

काठमाडौँ, ७ मङ्सिर : नेपाल भ्रमण वर्षमा विदेशी पर्यटकलाई मुगुस्थित ‘रारा ताल’मा आकर्षित गर्ने उद्देश्यले आसपास क्षेत्रमा यही मङ्सिर १६ र १७ गते सरसफाइ गरिने भएको छ । आन्तरिक एवं बाह्य पर्यटकको बढ्दो चापसँगै पदमार्गमा प्लाष्टिकजन्य फोहरको मात्रा बढ्दै गएकाले राराको सौन्दर्यमा कमी आउन नदिन सफाइ गर्न लागिएको छ ।

उक्त कार्यक्रममा ५०० मिटरको दूरीमा १५ वटा डस्टबिन राखिने छ । आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालि र हिलसाइट कालीकोटले संयुक्तरुपमा उक्त पर्यटकीय सम्पदालाई उत्कृष्ट गन्तव्यस्थलका रुपमा प्रवद्र्धन गर्न स्थानीय तल्लोमिलीदेखि रारासम्म करीब सात किलोमिटरमा सङ्कलन भएका फोहर व्यवस्थापन गर्नेछन् ।

यहाँ आज आयोजित पत्रकार सममेलनमा टुर्सका प्रबन्ध निर्देशक सोमबहादुर तामाङले रारा मुलुकको सबैभन्दा ठूलो र प्रसिद्ध भएकाले त्यसको संरक्षण तथा प्रचारका लागि उक्त सरसफाइ, पदयात्रालगायत रचनात्मक कार्यलाई अभियानका रुपमा शुरु गर्न लागिएको जानकारी दिनुभयो । भौगोलिक जटिलताले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न नसकिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “रारामा लामो समयदेखि फोहर बढ्दै गएको छ, त्यसको सफाइ नगरिए सम्पदाको सौन्दर्य बिग्रिने खतरा बढ्दैछ ।”

समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको रारा मुगु सदरमुकाम गमगढीबाट पश्चिमतर्फ करीब तीन घण्टाको पैदलयात्रामा पर्दछ । करीब १० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको राराको अधिकतम लम्बाइ पाँच किलोमिटर र अधिकतम चौडाइ तीन किलोमिटर छ भने गहिराइ १६७ मिटर छ । देशका विभिन्न पर्यटकीयस्थललाई स्वदेश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय तहका सरोकार पक्षसँग समन्वय गरी समिट ट्राभल एण्ड टुर्सले विभिन्न गतिविधि गर्दै आएको छ ।
-रासस

प्रतिक्रिया