सप्तरी, ७ मङ्सिर : बालिकालाई बलात्कार गरेको आरोपमा घरमा पाहुना आएका ७४ वर्षीय व्यक्ति आज पक्राउ परेका छन् । इन्सेक सप्तरीले ११ महिनाका अवधिमा सप्तरीमा ३३ बालिका बलात्कृत र १३ बालिकामाथि बलात्कार प्रयासको घटना भएको प्रतिवेदन सार्वजनिक गरेकै दिन बालिका बलात्कारको आरोपमा तिरहुत गाउँपालिकाका महावीर सरदार पक्राउ परेका हुन् ।
घरका परिवारका सदस्य धानबाली भित्र्याउन खेत गएका बेला सरदारले बिहीबार दिउँसो बलात्कार गरेको पीडितले बताइन् । पीडितका साथ राजविराज आएकी उनकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा आज स्वास्थ्य परीक्षण भएको अस्पतालले जनाएको छ ।