रामपुर अस्पतालको भिडियो एक्सरे सेवा ठप्प, सेवाग्राही मर्कामा

रिता घिसिंग

बेझाड पाल्पा, ८ मङ्सिर : रामपुर अस्पतालमा सञ्चालन हुँदै आएको भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा भिडियो एक्सरे मेसिन छ तर प्रयोगमा ल्याउने जनशक्ति अभावका कारण सेवा नै बन्द छ ।

भिडियो एक्सरे सेवाका लागि अस्पतालमा एकजना रेडियोलोजिष्ट डाक्टरको दरबन्दी छ । दरबन्दी अनुसार डाक्टर नहुँदा यहाँका नागरिकले आफ्नै गाउँ ठाउँकै अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन् ।

अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हँुदा निजी क्लिनिकमा महङ्गो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको बिरामी गुनासो गर्छन् । दुई महीनादेखि यहाँ रहेको भिडियो एक्सरे मेसिन चालु नभएको अस्पतालका निमिक्त प्रमुख विनेश झा बताउनुहुन्छ ।

अस्पतालमा दबरन्दी छ, तर दरबन्दी अनुसारका डाक्टर नहँुदा भएका सामान पनि प्रयोगमा ल्याउन सकिएको छैन झाले भन्नुभयो, “भिडियो एक्सरे मेसिन सञ्चालन गर्न दरबन्दी अनुसारको डाक्टर नहुनु अर्कोतर्फ तालीम प्राप्त डाक्टरको अभावमा सेवा दिन नसकिएको उहाँ स्वीकार गर्नुहुन्छ ।”

एक्सरे सेवा सुचारु गर्न सम्बन्धित निकायमा जानकारी गराए पनि अहिलेसम्म समस्याको समाधान हुन नसकेको अस्पतालले जनाएको छ । अस्पतालमा भिडियो एक्सरे सेवा नपाउँदा बिरामीले सास्ती खेप्नु परेको रामपुर नगरपलिका ५ बस्ने बुद्धिसरा दरै बताउनुहुन्छ ।

उहाँ मुटुको समस्याले अस्पतालमा उपचार गराउन आउनुभएको थियो । डाक्टरले भिडियो एक्सरे गर्ने सल्लाह दिएपछि अन्यत्र क्लिनिकतिर धाउनु पर्दा निकै समस्या परेको बताउनुभयो ।

एक्सरेकै लागि अस्पताल आउनुभएकी लीलादेवी खनाल पनि अस्तालले सेवा बन्द गरेको बताएपछि उहाँ फर्किनुभयो । “भिडियो एक्सरे गर्नकै लागि आएको, मेसिन बन्द छ, भनेर डाक्टरले भनेपछि उपचार नै नगरी फकिर्यो” खनालले भन्नुभयो ।

दैनिकजसो भिडियो एक्सरे गर्ने बिरामीको यहाँ खाली हुदैन । भिडियो एक्सरेकै लागि मात्र टाढाटाढाबाट पनि बिरामी अस्पतालसम्म आउने गर्छन् । तर सेवा नपाउँदा त्यसै फर्कन बाध्य भएका छन् ।

अस्पतालमा दरबन्दी छ, तर डाक्टर नै नभएपछि सेवा नै बन्द हुँदा बिरामी मारमा परेको स्वास्थ्य शाखा रामपुरमा संयोजक तीर्थप्रसाद ढुङ्गाना बताउनुहुन्छ । यस विषयमा स्थानीय तहले तत्काल समस्याको समाधान गर्ने उपायतिर त्यति चासो देखाएको पाइदैन ।

एकीकृत घुम्ती शिविर

निस्दी गाउँपालिका–४ को मित्यालमा चलेको एकीकृत घुम्ती शिविरमा २८९ जनाले सेवा लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजना तथा निस्दी गाउँपालिकाको समन्वयमा यहाँका नागरिकलाई सहज रुपमा घरदैलोमै सेवा पाउन भन्ने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

मित्यालमा तीन दिनसम्म चलेको घुम्ती शिविरमा १७९ महिला, ११० पुरुष गरी जम्मा २८९ जनाले नेपाली नागरिकताको सेवा लिएको निस्दी गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले जानकारी दिनुभयो ।

त्यस्तै शिविरमा २६८ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमा ९३ जना पुरुष, १७५ जना महिलाले सेवा लिएका छन् । गाउँमा सञ्चालन भएको घुम्ती शिविरले नागरिकलाई धेरै सहज भएको स्थानीयवासी जयबहादुर खाम्चा बताउनुुहुन्छ ।

निस्दी गाउँपालिकाका मित्याल, गल्धा, झिरुवास र अर्चलेका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको हो । रासस

प्रतिक्रिया