मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद

रिता घिसिंग

गौशाला, ८ मङ्सिर : दुई दिनमा महोत्तरी प्रहरीले घरेलु मदिरा उत्पादन गर्न प्रयोग गरिने २० हजार लिटर कच्चा पदार्थ बरामद गरेको छ । जिल्लालाई घरेलु अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमुक्त बनाउने अभियान अन्तर्गत दुई दिनमा प्रहरीले ८ स्थानमा मदिरा उत्पादन भट्टी तोडफोड गरी नष्ट गर्नुका साथै २० हजार १०० लिटर मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

उहाँका अनुसार मदिरा नियन्त्रण अभियान टोलीले जिल्लाको रामगोपालपुर नगरपालिकाबाट पाँच हजार लिटर, औरही नगरपालिकाबाट सात हजार ८०० लिटर, लोहारपट्टी नगरपालिकाबाट ७०० लिटर, बर्दिवास नगरपालिकाबाट तीन हजार ८०० लिटर, बलवा नगरपालिकाबाट ८०० लिटर र महोत्तरी गाउँपालिकाबाट २०० लिटर मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ बरामद गरिएको हो । प्रहरी टोलीले ५२० लिटर तयारी मदिरा, ९१ वटा ड्रम, १३ थान मेसिन र २६० किलो सक्खर बरामद गरेको जनाएको छ ।
–रासस

प्रतिक्रिया