शोकमा सप्तरीका सबै स्थानीय तह बन्द

admin

सप्तरी, ८ मङ्सिर: बस दुर्घटनामा परी पाँच जनाको मृत्यु र ४९ जना घाइते भएपछि सिङ्गो सप्तरी जिल्ला शोकमा डुबेको छ । सुनसरीको बराहक्षेत्रबाट कात्तिक पूर्णिमाको मेला भरी फर्किने क्रममा गए राती सप्तरीको इनरुवामा को१ख २७९९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा डाकनेश्वरी नगरपालिका– ४ भूतहीका दिनेश रजक, उहाँकी श्रीमती सुनीलादेवी तथा वडा नं ५ पातोका बेचनीदेवी यादव, ठकनीदेवी यादव र सिकिलदेवी साहको मृत्यु भएको थियो । पाँच जनाको मृत्युले भूतही र पातो क्षेत्र मात्र नभई सिङ्गो जिल्ला नै शोकमा डुबेको हो ।

शोकमा आइतबार जिल्ला समन्वय समितिसहित जिल्लाका १८ वटै स्थानीय तह बन्द गरिएको जिससका प्रमुख प्रभाकर यादवले बताउनुभयो । घटना सुनेलगत्तै रातिदेखि नै घटनास्थल र अस्पताल पुगेर स्थानीय तहका प्रमुख, अध्यक्षसहित राजनीतिक दलका कार्यकर्ता, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, समाजसेवीले आर्थिक तथा भौतिक सहयोग गरेर घाइतेको उद्धार गरेका थिए ।

दुःखद्पूर्ण घटनाले जिल्लामा नै सन्नाटा छाएको र आफूलाई स्तब्ध बनाएको राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलको भनाइ छ । प्रदेशसभा सदस्य रुवि कर्णले मृतकप्रति श्रद्धाञ्जलि र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गर्न विज्ञप्तिमार्फत माग गर्नुभयो । यसैगरी आजै अपराह्न घाइतेलाई भेट्न राजविराज आउनुभएका प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले मृतक परिवारलाई जनही रु एक लाख र घाइतेको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने घोषणा गर्नुभयो ।
– रासस

प्रतिक्रिया