काठमाडौंँ, ९ मङ्सिर: काठमाडौँ महानगरपालिका– ३२, गैरीगाउँमा धारिलो हतियार प्रहार गरी युवकको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ, तारकेश्वर नगरपालिका–७ का मनिष बानियाँ र महेश परियारलाई पक्राउ गरेको हो । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । लागुऔषध राख्ने विषयमा झगडा भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
बानियाँ र परियारले मोरङ, उर्लाबारी घर भई हाल काठमाडौँ, सुकुम्बासी टोल बस्दै आएका विक्की लिम्बूलाई शनिबार धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । उनीहरुले काठमाडौँ शान्तिनगरका अनिल श्रेष्ठलाईसमेत धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । श्रेष्ठको विर अस्पतालमा उपचार भइरहेको छ ।
-रासस