मादक पदार्थ सेवनले कोलाहल स्थान शान्त र सभ्य बन्दै

शर्मिला गुरुङ

बनियानी, १० मङ्सिर  :  मादक पदार्थ सेवनका कारण अशान्त र कोलाहल हुने गरेको झापा बिर्तामोड–६ स्थित स्यालडाँगी र घण्टीबारी क्षेत्र यतिबेला शान्त र सभ्य बन्दै गएको छ ।

गाउँघरमा विकृति र अवाञ्छित गतिविधि बढेसँगै स्थानीयबासीले टोल गस्ती गर्न थालेपछि गाउँ शान्त र सभ्य बन्दै गएको हो । रातको समयमा जाँडरक्सी, लागुपदार्थ सेवन गरेर झैझगडा, होहल्ला गर्ने, पसल तथा सटरमा ढुङ्गा हान्ने, चोरी लगायतका अवाञ्छित गतिविधि बढेपछि राति टोल गस्ती गर्न थालिएको टोल गस्तीका संयोजक नवराज मेचेले बताउनुभयो ।

‘गाउँटोलमा विकृति बढेपछि एक साता अघिदेखि गस्ती शुरु गरेका छौँ’, उहाँले भन्नुभयो, ‘गस्ती शुरु गरेयता गाउँमा शान्ति छ ।’ गस्ती टोली ५० सदस्यीय रहेको छ । १०/१० जनाको पाँच समूह बनाएर राति ८ बजेदेखि ११ बजेम्म गस्ती गर्ने गरिएको अध्यक्ष मेचेले बताउनुभयो ।

गस्ती शुरु गरेयता चार जनालाई कारबाही समेत गरिएको अध्यक्ष मेचेले उल्लेख गर्नुभयो । इलाका प्रहरी कार्यालय अनारमनीको सहयोगमा मादक पदार्थ सेवन गर्ने तीन जनालाई पक्राउ गरेर पुनः त्यस्तो नगर्ने प्रतिबद्धता गराएर छाडिएको र एक जनामाथि सार्वजनिक मुद्दा दर्ता गरिएको छ ।

युवा कुलतमा फस्दै गएको र रातिको समयमा मादक पदार्थ सेवन गरेर होहल्ला गरेर गाउँ अशान्त बन्न थालेपछि रात्रि गस्ती गर्न थालिएको वडा नं. ६ का वडा सदस्य एन्विन्द्र खत्रीले बताउनुभयो । गाउँमा विकृति बढेपछि गस्ती टोली गठन गर्ने प्रस्ताव आफूले अघि सारेको बताउँदै उहाँले भन्नुभयो, ‘टोल गस्ती शुरु गरेयता गाउँ निक्कै शान्त भएको छ ।’

टोल गस्ती शुरु गरिएसँगै बिर्तामोड वडा नं. ६ को वडा कार्यालयले यसका लागि रू ५० हजार बजेट समेत उपलब्ध गराएको छ । गस्तीका लागि आवश्यक सामग्री खरीद गर्न बजेट उपलब्ध गराइएको वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले बताउनुभयो ।
‘सडक, पूल लगायतका पूर्वाधार निर्माण गरेर मात्र विकास हुँदैन’, उहाँले भन्नुभयो, ‘विकृतिरहित समाज पनि निर्माण हुनुपर्छ, नराम्रो मान्छेलाई राम्रो बनाउन आवश्यक छ ।’ यस्ता कार्यले स्यालडाँगी र घण्टीबारीलाई नमूना टोल बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । उहाँले आवश्यकतानुसार थप बजेट उपलब्ध गराउनेसमेत जनाउनुभयो ।

वडा कार्यालयले गस्तीमा सहभागीका लागि ट्र्याक सुट उपलब्ध गराउने भएको संयोजक मेचेले बताउनुभयो । वडा कार्यालयले उपलब्ध गराएको बजेटबाट रू २० हजार बराबरको आवश्यक सामग्री खरीद गरिएको उहाँले बताउनुभयो । गस्ती गर्न सहज होस् भन्ने उद्देश्यले स्थानीयबासी राजु दिवालीले चार थान वाकीटकी समेत उपलब्ध गराएका छन् । यो क्षेत्र शिक्षा, रोजगार, स्वास्थ्य लगायतका दृष्टिकोणले पछि परेकाले यहाँका युवा कुलतमा फँसेको स्थानीयबासी कृष्ण थापाले बताउनुभयो । स्यालडाँगी–घण्टीबारीमा ७८३ घरपरिवारको बसोबास रहेको छ । सन्तोष शर्मा, रासस

प्रतिक्रिया