आम्दानीको स्रोत तरकारी खेती

शर्मिला गुरुङ

गलेश्वर, १० मङ्सिर  :  पहाडको खेतबारी । फोहोटा र कान्लाकान्ली मात्र धेरै । तिनै फोहोटा र कान्लाकान्लीलाई सम्याएर बनाइएको गरामा दिनरात परिश्रम गरेर उत्पादन गरिएको तरकारी बिक्री गरी मासिक रु ६० हजार आम्दानी गर्नु सामान्य कुरा होइन । परिश्रम गर्ने हो र सीप हुने हो भने एउटै गराबाट पनि पर्याप्त आम्दानी गर्न सकिँदो रहेछ भन्ने कुराको उदाहरण म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका हरिलाल घिमिरे बन्नुभएको छ ।

पछिल्लो समय ४८ वर्षीय घिमिरेको जीवन तरकारी खेतीका कारण फेरिएको छ । तीस वर्षअघि गरीबीका कारण गाउँमा बस्न सक्ने अवस्था थिएन । विदेश जानका लागि रु ६० हजार ऋण नपाउनुभएका घिमिरेले अहिले तरकारी खेतीबाटै मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । दश वर्षसम्म साउदी अरबको चर्को गर्मीमा पसिना बगाइ मेहनत गर्दा पनि मासिक रु २० हजार कमाइ गर्न नसकेपछि गाउँ फर्किएका घिमिरेले २०५६ सालदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले एउटै गरामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरियाँ, बोडी, बन्दागोभीलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।

“वार्षिक रु ६ लाखभन्दा बढी आम्दानी हुन्छ,” घिमिरेले भन्नुभयो । गत वर्ष आफूले फलाएको १० टन बन्दागोभी सदरमुकाम बेनीमा बिक्री हुन नसकेपछि पोखरा, काठमाडौँ, चितवन र बुटवलसम्म पु¥याएर सस्तोमा बिक्री गर्नुपरेको उहाँले गुनासो गर्नुभयो । “बिक्री गर्न बजारको समस्या छ,” उहाँले भन्नुभयो । घिमिरेले अहिले विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम सङ्कलन, छोराछोरीको पढाइ र घरघडेरीसमेत जोड्नुभएको छ ।

बालकलाई सहयोग
छ महीनादेखि आँखाको रक्तअर्बुदबाट पीडित धौलागिरि गाउँपालिका– ८ लम्सुङका आठ वर्षीय नजिन विकको उपचारका लागि जापानबाट रु ६२ हजार १२३ सहयोग प्राप्त भएको छ ।

आर्थिक अवस्था कमजोर भएको र आँखाको शल्यक्रियामा ठूलो खर्च लाग्ने भनी पीडितका बुबा प्रेमबहादुरले सहयोगका लागि देशविदेशमा रहेका नेपालीमा आग्रह गरेपछि सिन्धुपाल्चोकका सामाजिक अभियानकर्मी बबिता योञ्जनले ‘नजिन बचाऔँ अभियान’ सञ्चालन गर्नुभएको थियो ।

म्याग्दीकै आशिष परियार झिल्केले पीडित नजिनको अवस्थाका बारेमा बाग्लुङ नगरपालिका– ५ मालिका बान्दै घर भई हाल जापानमा व्यवसाय गर्दै आउनुभएका गुरुप्रसाद सापकोटालाई भनेपछि मालिका समाज जापानका अध्यक्षसमेत रहनुभएका सापकोटाको सक्रियतामा अभियान फेसबुक गु्रप सञ्चालन भएको थियो ।

सोही गु्रपमार्फत जापानमा कार्यरत नेपालीबाट रकम सङ्कलन गरी पठाएको रकम पीडितका बुबा प्रेमबहादुरलाई हस्तान्तरण गरिएको आशिष परियार झिल्केले जानकारी दिनुभयो । पीडित नजिनको नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचार भइरहेको छ भने पहिलो चरणको शल्यक्रिया सफल भएको जनाइएको छ । रासस

प्रतिक्रिया