कृषकलाई अनुदानमा आलुको बीउ वितरण

शर्मिला गुरुङ

बेझाड, १० मङ्सिर  :  पाल्पाको पूर्वखोला गाउँपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरेको छ । कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको हो ।

छवटै वडा कार्यालयमार्फत कृषकको मागको आधारमा आलु बीउ वितरण गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । वडा नं १ मा २५ क्वीन्टल, २ मा ४० क्वीन्टल, ३ मा ५० क्वीन्टल, ४ मा ३० क्वीन्टल र वडा नं ६ मा २५ क्वीन्टल कार्डिनल रातो जातको आलुको बीउ वितरण गरिएको हो । गाउँपालिकाको रु ६ लाख ५० हजार र कृषकको रु ६ लाख ५० हजारको आलुको बीउ वितरण गरिएको हो । यस्तै कृषकलाई एघार क्वीन्टल गौतम जातको गहुँको बीउ निःशुल्क वितरण गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

सहकारीद्वारा वृद्धभत्ता वितरण

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिकलाई वृद्धभत्ता वितरण गरेको छ । सहकारीमा आबद्ध ७० वर्ष उमेरमाथिका ६० ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति मासिक रु ५०० का दरले वृद्धभत्ता वितरण गरिएको हो । सहकारीले तीन वर्षदेखि ‘ज्येष्ठ नागरिक पोषण खर्च’ शीर्षकअन्तर्गत सो भत्ता वितरण गर्दै आएको अध्यक्ष तीर्थप्रसाद पङ्गेनीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया