बजार सुन्दरीकरणका लागि योजना छनोट

admin

जीतपुर, १२ मङ्सिर : कपिलवस्तु जिल्लाका तीन निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि ५९ वटा योजना छनोट गरिएको छ । निर्वाचन क्षेत्र नं १ मा २०, २ मा २० र ३ मा १९ वटा योजना छनोट भएका हुन् । तीन वटा निर्वाचन क्षेत्रका लागि आएको रु चार करोडका दरले रु १२ करोडमा अधिकांश रकम सडक पूर्वाधारमा विनियोजन गरिएको छ । यसरी छनोट भएका योजनामा विशेष प्राथमिकता सडकलाई दिइएको छ ।

यस्तै पूर्वाधार विकास, सिँचाइ, शैक्षिक पूर्वाधार, खानेपानीका लागि पनि योजना छनोट गरिएको छ । न्यूनतम रु १० लाखभन्दा माथिका योजना बनाउने पर्ने नीतिगत व्यवस्थाअनुसार जिल्लामा तीन वटा निर्वाचन क्षेत्रका रु ५० लाख देखि एक करोडसम्मका पाँच वटा योजना छनोट गरिएको छ । सङ्घीय सांसदले स्थानीय तह, जिल्लाबाट निर्वाचित प्रदेश सदस्यसहितको सल्लाहमा बजेटको बाँडफाँट गरेअनुसार निर्वाचन क्षेत्र नं २ अन्तर्गत महाराजगञ्ज नगरपालिका–१ को बजार सुन्दरीकरण, कालोपत्र निर्माण, नाली निर्माण र सोलार जडानका लागि एक करोड रकम छुट्याइएको छ ।

यस्तै निर्वाचन क्षेत्र नं ३ अन्तर्गत वडा नं ६ को वड्की भलवारी गाउँदेखि हुलाकी सडकसम्म स्तरोन्नतिका लागि ५० लाख रकम विनियोजन गरिएको छ । निर्वाचन क्षेत्र नं २ अन्तर्गत यशोधरा गाउँपालिका–६ पुन्निहवा गाउँमा नाली निर्माण, आरसीसी सडक निर्माणका लागि ५० लाख र निर्वाचन क्षेत्र नं १ अन्तर्गत शुद्धोधन गाउँपालिका–४ मा कन्या कलेज निर्माणका लागि ५० लाख र वाणगङ्गा नगरपालिका–६ लक्ष्मणघाटदेखि वैदोलीसम्मको सडक कालोपत्रका लागि ५५ लाख रकम छनोट गरिएको छ । छनोट भएका योजना सङ्घीय सरकारको सङ्घीय मामला तथा प्रशासन मन्त्रालयमा निर्णय गरी पठाइएको जिल्ला समन्वय समिति कपिलवस्तुले जनाएको छ ।
-रासस

प्रतिक्रिया