नेपाल–चीन सीमाको मितेरी पुल दुई महीनामा बन्ने

admin

चौतारा, १३ मङ्सिर: भूकम्प र भोटेकोशी बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोको तातोपानीस्थित नेपाल–चीन सीमाको मितेरी पुल निर्माण कार्य आगामी दुई महीनाभित्र सम्पन्न हुने भएको छ । चीनको खासामा बुधबार भएको द्विपक्षीय सीमा सुरक्षा बैठकमा चिनियाँ पक्षले यसबारे जानकारी गराएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र विसं २०७३ असारमा भोटेकोशी आएको बाढीबाट उक्त क्षतिग्रस्त भएको थियो ।

बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक घटना नियन्त्रणका लागि सुरक्षा व्यवस्था सदृढ र सबल बनाउनेमा दुबै पक्षबीच सहमति भएको प्रजिअ अधिकारीले बताउनुभयो । भूकम्प र बाढीबाट क्षतिग्रस्त बाह्रबिसे तातोपानी २६ किमी सडक तथा पुल चिनियाँ सरकारको सहयोगमा चिनियाँ रेल्वे कन्स्ट्रकसन कम्पनी फोर्टिन (१४) ब्युरोले निर्माण गर्ने ठेक्का पाएको छ ।

सडक तथा पुल निर्माण कार्यमा स्थानीबासीले अनावश्यक माग राखी अवरोध सिर्जना गरिरहेकोेप्रति चिनियाँ पक्षले चासो राखेको थियो भने नेपाली पक्षले त्यस्तो हुन नदिइने विश्वास दिलाएको प्रजिअ अधिकारीले बताउनुभयो । लार्चास्थित सुक्खा बन्दगाहको काम पनि सोही कम्पनीले गरिरहेको छ । आगामी जेठमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि काम शुरु गरेको सात महीनामा झन्डै ८० प्रतिशत कार्य सम्पन्न भएको बताइएको छ । भोटेकोशीमाथिको क्षतिग्रस्त मितेरी पुल अब १२ मिटर चौडाइको निर्माण हुनेछ । त्यसैगरी सडकको चौडाइ पनि साविकबाट बढाई १२ मिटर गरिने भएको छ ।
-रासस

प्रतिक्रिया