जुटे युवा पञ्चैबाजा संरक्षणमा

admin

पाल्पा, १४ मङ्सिर: नेपाली मौलिक बाजाका रुपमा स्थापित पञ्चैबाजा जोगाउन यहाँका परियार समुदायका युवा जुटेका छन् । रम्भा गाउँपालिका–१ हँुगीका पदमबहादुर परियारले शुरुआत गरेको अभियानमा सबै जुटेपछि लोप हुने अवस्थामा रहेकोे पञ्चैबाजा बजाउने परम्परा संरक्षण भएको हो । परियारका छोरा र नातिहरुसमेत पञ्चैबाजा बजाउन जुटेसँगै नेपाली बाजा बजाउने परम्परा जोगिएको हो । परियारको परिवारले पञ्चैबाजा बजाउने पेशालाई अँगाले पछि उहाँका परिवारका साथै नयाँ पुस्तासमेत संरक्षणमा जुटेका हुन् । अहिले स्थानीय युवाहरुसमेत शुभकार्यमा बाजा बजाउन आकर्षित हुँदै आएका छन् । पहिला दमाईं जातिका मानिसले मात्रा पञ्चैबाजा बजाउने र अन्य समुदायका मानिसले नाचगान गरी रमाइलो गर्ने चलनसमेत थियो ।

स्थानीय अगुवा तथा प्रशिक्षक धनबहादुर परियारका अनुसार बालबालिका, युवा र वृद्धसम्मका सबै पञ्चैबाजा बजाउन सिपालु बन्नाका साथै बाजाको संरक्षण र परम्परागत संस्कृतिको जगेर्ना हुँदै आएको छ । पञ्चैबाजा बजाउने दक्ष कलाकारको अभाव देशैभर बढेका बेला यहाँका परियार समुदायका साना बालबालिकालाई विद्यालय बिदाका समयमा पञ्चैबाजा बजाउन सिकाउन थालिएको र यसबाट विवाह, व्रतबन्धलगायत शुभकार्यमा प्रयोग हुनाका साथै आफूहरूको ज्ञान, सीप र क्षमता पनि अभिवृद्धि हुने गरेको प्रशिक्षक परियारको भनाइ छ ।

परम्परादेखि चलिआएको पञ्चैबाजा बजाउन पाउँदा, खुशी लागेको स्थानीय युवा सन्दीप दर्नालले बताउनुभयो । यस पेशालाई व्यावसायिक बनाउन सके थप आय–आर्जनसमेत हुने सम्भावना छ । पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् । पञ्चैबाजा धार्मिक तथा सामाजिक उत्सवका अवसरमा समेत बजाउने गरिन्छ । पहाडी जिल्ला पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायत जिल्लामा विवाह, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजालगायतमा बाजा बजाउने परम्परा छ । पछिल्ला वर्षमा युवा पुस्ता विदेश पलायनसँगै परम्परागत कला, संस्कृति हराउन थालेको थियो ।

नेपालको पहाडी भेकमा विशेष शुभकार्यमा पञ्चैबाजा बजाउने परम्परा रहे पनि पछिल्लो समय पश्चिमी संस्कृतिको प्रभावले गर्दा नेपाली पञ्चैबाजा बजाउने चलन हटेका बेला यहाँका युवा जोस, जाँगर र कलासंस्कृति संरक्षणमा चासोको बढेको छ । नेपालको पहाडी भेग र भारतको सिक्किम तथा दार्जिलिङ क्षेत्रमा पञ्चैबाजा बजाइने गरिन्छ । पञ्चैबाजा, नेपाली धार्मिक एवं सांस्कृतिक बाजाका रुपमा प्रयोग हुँदै आएको र मौलिक संस्कृतिको धरोहर पनि भएकाले यसको संरक्षणका राज्यको चासो हुनुपर्ने दतिल अगुवाहरुको भनाइ छ ।

नेपाली संस्कृतिमा कुनै पनि शुभकार्य गर्दा साइत खोजिने र साइतमा मङ्गल धून बजानउने चलन छ । मङ्गल धूनका लागि पञ्चैबाजा ने सबैभन्दा प्रचलित बाजा भएकाले यसको महत्व बढ्न थालेको हो । अहिले शहरी भेकमा प्रचलित आधुनिक ब्याण्ड बाजासँग पञ्चैबाजाले प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । परम्परागत रूपमा नेपालका दमाईं समुदायले मात्र यो बाजा बजाउने गरेकामा पछिल्ला वर्ष मगर तथा बाहुन समुदायका युवा समेत पञ्चैबाजा बजाउन आकर्षित बनेको परियार समुदायका अगुवा बताउँछन् ।

प्रतिक्रिया