रेलसेवा अध्ययन गर्न दक्षिण कोरियाली इन्जिनियरहरु उत्तर कोरिया प्रस्थान

रिता घिसिंग

सियोल, १४ मङ्सिर : उत्तर र दक्षिण कोरियाबीच रेलसेवा पुनः सञ्चालन गर्नेगरी संयुक्त सर्भेक्षण गर्न दक्षिण कोरियाका इन्जिनियर र अन्य अधिकृतहरु उत्तर कोरिया पुगेका छन् ।

यसै वर्षको शुरुमा रेलसेवा पुनस्र्थापना गर्न दुवै कोरियाबीच सम्झौता भएको थियो । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन र उत्तर कोरियाली नेता कीम जोङ अनबीच भएका उच्चस्तरीय भेटवार्तामा रेलसेवा पुनस्र्थापना गर्ने सहमति भएको थियो ।

दक्षिण कोरियाली इन्जिनियर बोकेको एउटा रेल एक दशकपछि पहिलोपटक उत्तर कोरियाली सीमाक्षेत्रमा प्रवेश गरेको छ ।

शुक्रबार टेलिभिजनहरुले एउटा रातो, सेतो र निलो रङ्गको रेल दक्षिण कोरियाको डोरासान स्टेशनबाट उत्तर कोरियाका लागि प्रस्थान गरेको देखाएका छन् । अन्तर–कोरियाली सीमाक्षेत्रको पश्चिमी भागबाट यो सबैभन्दा नजिकको रेल स्टेशन हो । रेलको अघिल्तिर राखिएको ब्यानरमा “शान्ति र समृद्धिको युगमा प्रवेशका लागि “आइरन हर्स” उत्तरतर्फ लाग्यो” लेखिएको छ ।

“यसले रेलसेवा पुनस्र्थापना मार्फत उत्तर र दक्षिण कोरियाको संयुक्त समृद्धिको शुरुवातको सङ्केत गर्दछ,” दक्षिण कोरियाका यातायात मन्त्री कीम ह्यून–मीले भन्नुभयो ।

उहाँले रेलसेवा पुनः जोडिँदा यसले मुलुकको आर्थिक क्षेत्र युरेसीयासम्म जमिनबाटै जोड्न मद्दत गर्ने बताउनुभयो । कोरियाली प्रायःद्वीपको विभाजनले धेरै दशकसम्म भूराजनीतिक रुपमा दक्षिण कोरियालाई अलग्याएको उहाँको भनाइ छ ।

छ वटा डब्बा भएको यो रेलमा इन्जिनियर र अन्य अधिकारीसमेत २८ जना दक्षिण कोरियालीहरु रहेका छन् । रेलमा ५५ टन इन्धन र विद्युत जेनेरेटर समेत रहेको छ ।

उत्तर कोरियाली सीमाक्षेत्रमा रहेको पानमुन स्टेशनबाट यो छ डब्बे रेललाई उत्तर कोरियाली रेल इन्जिनले तान्नेछ, र दक्षिणको रेल इन्जिन स्वदेश फर्कनेछ ।

दक्षिण कोरियाली र उनीहरुका उत्तर कोरियाली साथीहरुले १८ दिन लगाएर रेल लाइनको अध्ययन र अवलोकन गर्नेछन् । उनीहरुले उत्तर कोरियाको सबैभन्दा दक्षिणमा रहेको काइसोङ शहरदेखि चीनको सीमासम्म रहेको सिनुइजु शहरसम्म तथा माउन्ट कुमगाङदेखि पूर्वमा रसियासँग सीमा जोडिएको टुमेन शहरसम्मको रेल लाइनको निरीक्षण गर्ने बताइएको छ ।

यातायात मन्त्रालयका अनुसार उनीहरुले संयुक्त रुपमा करिब २ हजार ६०० किलोमिटर रेलबाटै यात्रा गर्नेछन् ।

सन् १९४८ मा कोरियाली प्रायःद्वीपको विभाजन हुनुअघि उत्तर र दक्षिण कोरिया जोड्ने दुईवटा रेल लाइन थिएः एउटा पश्चिमी भागमा र अर्को पूर्वी भागमा ।

दुवै देशबीचको समझदारी बढाउने उद्देश्यले सन् २००७ मा पश्चिमी रेल लाइनलाई पुनः सञ्चालन गरिएको थियो । यो रेलसेवाबाट सीमित मात्रामा दक्षिण कोरियाको लगानीमा स्थापित काइसोङ औद्योगिक क्षेत्रसम्म वस्तु तथा सामग्रीको ढुवानी गरिन्थ्यो । तर उत्तर कोरियाको आणविक कार्यक्रमका कारण उत्पन्न विवादपछि यो सेवा करिब एक वर्ष पछि बन्द भयो ।

दक्षिण कोरियाली एकीकरण मन्त्रीले उत्तर कोरियासँगको रेलसेवा पुनः शुरु गर्नेसम्बन्धी कार्यक्रम सञ्चालन गर्न अर्को वर्षका लागि करिब ५ करोड ६६ लाख अमेरिकी डलर बजेट व्यवस्था गरिएको बताउनुभएको छ । यो रेलसेवा मर्मत गरी पूर्ण रुपमा सञ्चालन गर्न करिब पाँच वर्ष लाग्नेछ ।

उत्तर कोरियाको रेलसेवा अत्यन्त नाजूक अवस्थामा छ । एक प्रतिवेदन अनुसार उत्तरका रेलसेवाको गति प्रतिघण्टा २० देखि ४५ किलोमिटर मात्र छ ।
–रासस

प्रतिक्रिया