म्याग्दी, १५ मङ्सिर : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण पहिलो हिमालको आधार शिविरमा आश्रयस्थल निर्माण भएको छ । आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि जाने पर्यटक, पर्यटक मजदुर र पदयात्रीलाई सुरक्षित बसोबासको सुविधा उपलब्ध गराउन नारच्याङका बासिन्दाले आश्रयस्थल निर्माण गरेका हुन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आर्थिक सहयोग र स्थानीयवासीको श्रमदान गरी रु १२ लाखको लागतमा आश्रयस्थल निर्माण गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । समुन्द्री सतहदेखि चार हजार ११० मिटरको उचाइमा अवस्थित आधार शिविरमा ३० मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको विश्रामस्थलमा एक पटकमा करीब ६० जनाले आश्रय लिनसक्ने अध्यक्ष गुरुङले बताउनुभयो ।
चार वर्ष लगाएर नारच्याङदेखि अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग निर्माण गरेका स्थानीयवासीले पदमार्गमा पर्ने विभिन्न स्थानमा झोलुङ्गे पुल, आश्रयस्थल निर्माण र प्रचारप्रसारमा जोड दिएका छन् । हाल नारच्याङदेखि दुई दिन पैदल हिँडेर पुगिने आधार शिविर नजीकै निलगिरिखोला जलविद्युत् आयोजनाले निर्माण गरिरहेको सडक पुगेमा यात्रा अवधि र दूरी अझै छोटिने स्थानीयवासी मनबहादुर पुर्जाले बताउनुभयो ।
पदमार्ग निर्माण गरेपछि आरोही र पर्यटक हेलिकप्टरबाट जानुपर्ने समस्या हटेको छ । यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो पदमार्ग भएको अध्यक्ष गुरुङले बताउनुभयो । सूर्योदयले चम्केका सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउन पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता हो । अग्ला पहाड हुँदै झर्ने झरना, जङ्गली जनावर, चराचुरुङ्गी, वनस्पती, जडीबुटी र मनमोहक हिमाल यो पदमार्गको थप आकर्षण हो ।
सामुदायिक भवन निर्माण
म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेँसीका बासिन्दाले स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर सामुदायिक भवन निर्माण गरेका छन् । दुखुबेँसीमा रहेको जनहित आमा समूहको अगुवाइमा सभाहलसहितको एकतले दुईकोठे भवन निर्माण भएको हो । स्थानीयवासीबाट करीब रु १८ लाख चन्दा सङ्कलन गरेर सरकारी निकायको सहयोगबिनै भवन निर्माण गरिएको आमा समूहकी अध्यक्ष डिलमाया पुनले बताउनुभयो ।
भवन निर्माणका लागि स्थानीय टेकबहादुर रोकाले करीब डेढ रोपनी जग्गा सहयोग गर्नुभएको थियो । भवन निर्माण भएपछि भेला, बैठक, तालीम, गोष्ठी र सांस्कृतिक कार्यक्रम आयोजना गर्न सहज भएको छ । व्यक्तिको आँगन र चौरमा बैठक बस्नुपर्ने समस्या हटेको छ । समुदाय परिचालनमार्फत सामुदायिक भवन निर्माण गरेर दुखुबँेसीवासीले विकासमा जनसहभागिताको नमूना प्रस्तुत गरेका स्थानीयवासीसमेत रहनुभएका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।
-रासस