पशुपालकको आय बढाउन घरदैलो

शर्मिला गुरुङ

सप्तरी, १५ मङ्सिर : तिलाठी कोइलाडी गाउँपालिकामा पशु स्वास्थ परीक्षण तथा व्यावसायिक पशुपालनसम्बन्धी निःशुल्क घरदैलो अभियान शुरु भएको छ । सर्वाधिक पशुपालन गरिएको गाउँपालिका–२ लौनियाबाट घरदैलो अभियान शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर २ बाट शुरु भएको अभियान क्रमिकरुपमा गाउँपालिकाका आठ वटै वडामा सञ्चालन गरिने बताइएको छ । घरदैलो अभियानमा वरिष्ठ पशुरोग विशेषज्ञ डा दीपककुमार सिंह, डा राहुलप्रताप सिंह, डा मृगेन्द्र सिंहसहितको १५ सदस्यीय टोली संलग्न छन् । टोलीले स्वास्थ्य तथा अन्य सेवा प्रदान गर्ने छन् ।

पशुमा देखिने विभिन्न खाले रोगको उपचार, नियन्त्रण, उत्पादनमा वृद्धि र पशुपालकको अनावश्यक खर्च जोगाउने उद्देश्यले निःशुल्क घरदैलो अभियान थालिएको तिलाठी कोइलाडी गाउँपालिकाका स्वास्थ्य संयोजक शैलेश मिश्रले बताउनुभयो । घरदैलो अभियानअन्तर्गत पशुको जाँच र औषधि निःशुल्क उपलब्ध गराइने छ ।

पशुमा देखिने विभिन्न रोगले उपचार खर्च धान्न समस्या भई उत्पादन र आयमा समेत ह्रास आइरहेका बेला पशु स्वास्थ्य परीक्षण र उपचार गर्न थालिएको घरदैलो अभियानले पशु उत्पादनमा वृद्धि हुने प्राध्यापक प्रदीपकुमार मण्डलले बताउनुभयो । रासस

प्रतिक्रिया