तरकारी बिक्री केन्द्र नहुँदा किसानलाई समस्या

शर्मिला गुरुङ

तुलसीपुर, १५ मङ्सिर : तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा तरकारी बिक्री केन्द्र नहुँदा किसानलाई समस्या भएको छ । किसानले उत्पादन गरेको तरकारी घर घरमा पुगेर बिक्री गर्नुपर्ने बाध्यता छ ।

उपमहानगरपालिकाका १९ वडाका अधिकांश किसान कृषि पेशामा आबद्ध छन् । पछिल्लो समयमा धेरै किसानले व्यावसायिक रुपमा कृषि पेशा अपनाएका छन् । उनीहरुले उत्पादन गरेको तरकारी भने बिक्री गर्न धौधौ हुने गरेको छ । “सडकमा बसेर तरकारी बिक्री गर्नुपर्ने बाध्यता छ,” स्थानीय किसान छोटीराम चौधरीले भन्नुभयो, “सडकमा बसेर तरकारी बिक्री गर्दा दुर्घटनाको जोखिम रहन्छ ।”

तरकारी बिक्री गर्नका लागि घरघरमा पु¥याउँदा उचित मूल्य नपाएको तुलसीपुर–११ का जागेश्वर भण्डारीको गुनासो छ । उहाँले सम्बन्धित निकायले समस्या समाधान गर्न पहल गर्नुपर्ने बताउनुभयो । “तरकारी बिक्री गर्नका लागि निश्चत स्थान छैन, कहिले कुनै व्यक्तिको घरमा त कहिले सडकमा बसेर तरकारी बिक्री गर्नुपर्छ,” उहाँले भन्नुभयो । किसान भाडा तिरेर अरुको पसल अगाडि तरकारी बिक्री गर्दै आएका छन् ।

मानपुरकी धनमति चौधरी बिक्री केन्द्र नहँुदा तरकारी बारीमै थन्किने गरेको बताउनुहुन्छ । उहाँले तरकारी बिक्री केन्द्र स्थापनाका लागि स्थानीय तहसँग माग गर्नुभयो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले किसानको माग उचित भएको बताउनुभयो । “तरकारी बिक्री केन्द्र निर्माणका लागि पहल भइरहेको छ,” उहाँले भन्नुभयो । तुलसीपुरको सेन्टर माविको जग्गा भाडामा लिएर तरकारी बिक्री केन्द्र निर्माण गर्ने योजना रहेको पाण्डेको भनाइ छ । रासस

प्रतिक्रिया