हेटौँडा, १५ मङ्सिर: हेटौँडा सामुदायिक आँखा अस्पताललाई रोटरी इन्टरनेशनल तास्मनिया अस्ट्रेलियाका एक पूर्व डिस्ट्रिक गर्भनरले ‘ओकुलर कोहरेन्स टोमोग्राफी’ (ओसीटी) उपकरण हस्तान्तरण गर्नुभएको छ ।
रोटरी इन्टरनेशनल तास्मनियाका पूर्व डिस्ट्रिक गर्भनर जेम्स विलकसले रोटरी क्लब अफद्वारा आज आयोजित कार्यक्रममा उक्त उपकरण हस्तान्तरण गर्नुभएको हो । उपकरण हस्तान्तरणपछि रोटरी क्लब अफ र सामुदायिक आँखा अस्पतालले उहाँलाई प्रशंसापत्रसहित सम्मान गरेको छ । ओसीटीको सहायता पाएपछि जटिल प्रकृतिको आँखाको शल्यक्रिया गर्न सहज भएको अस्पतालका प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त उपकरणले आँखाको रेटिनाको मोटोपना जाँच गर्नुका साथै मधुमेहलगायतका बिरामीको शल्यक्रिया गर्दा सुई दिने या नदिने सोही उपकरणबाट परीक्षण गर्न सकिनेछ । यसअघि सो उपकरण नहुँदा अस्पतालले बिरामीलाई काठमाडौँस्थित तिलगङ्गा अस्पतालमा स्थानान्तरण गर्नुपर्ने बाध्यता थियो । रोटरी क्लबका अध्यक्ष लेखराज पोखरेलका अनुसार उक्त उपकरणको मूल्य रु ८४ लाख ६० हजार ५३६ पर्दछ ।
-रासस