एड्स दिवसः एड्सबाट छ संक्रमित, दुईको मृत्यु

admin

पाँचथर, १५ मङ्सिर : यहाँ एचआइभी एड्सबाट छ जना संक्रमित भएको र दुई जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज एड्स दिवसको अवसर पारेर सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

एचआइभी एड्सका कारण दुई पुरुषहरुको मृत्यु तथ्याङ्कमा उल्लेख छ । त्यस्तै जिल्लामा छ जना एड्स संक्रमितहरुले नियमित औषधी सेवन गर्दै गरेको जिल्ला अस्पताल पाँचथरका प्रमुख डा वुद्धिबहादुर थापाले बताउनुभयो । संक्रमित छ मध्ये दुई जोडी श्रीमान् श्रीमती रहेका उहाँले जानकारी दिनुभयो ।

दिवसमा कार्यक्रम
फिदिम नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको आयोजनामा भएको कार्यक्रम एचआइभी एड्स विरुद्धको प्लेकार्ड र नाराअङ्कित व्यानरसहित ¥यालीले बजार परिक्रममा गरेको थियो । डिसेम्बर १ अर्थात् विश्व एड्स दिवसको अवसरमा फिदिममा एचआइभी एड्स नियन्त्रणमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका विषयक निबन्ध प्रतियोगितासमेत सम्पन्न गरिएको थियो ।

प्रतियोगितामा रमा पौडेल प्रथम, विष्णु श्रेष्ठ द्वितीय, शुसिला तामाङ तृतीय र पवित्रा चापागार्इं सान्त्वना भएका थिए । विजेतालाई फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम उपाध्याय र जिल्ला अस्पतालका प्रमुख वुद्धिबहादुर थापाले नगद पुरस्कार वितरण गर्नुभएको थियो ।

नेपालमा ३१ हजार २० संक्रमितमध्ये १९ हजार २० जना पुरुष र १२ हजार महिला रहेको साथै विश्वमा तीन करोड ६९ लाख बढी एड्स संक्रमित रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ । एचआइभी जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ भन्ने मूल नाराका साथ सञ्चालित ३१औँ विश्व एड्स देशैभर मनाइएको छ ।
-रासस

प्रतिक्रिया