फ्रान्समा इन्धनको मूल्यवृद्धिको विरोधमा गरिएको प्रदर्शन हिंसात्मक बन्दै : दर्जनाैँ भवनमा अागजनी, राष्ट्रपतिद्वारा अाक्राेश व्यक्त !

मनिषा थापा

फ्रान्समा पहेँलो ज्याकेट लगाएका प्रदर्शनकारीहरूले इन्धनको मूल्यवृद्धिको विरोधमा भन्दै गरेको हिंसात्मक प्रदर्शन अनियन्त्रित बन्दै गएकाे छ ।

यस सप्ताहान्तमा भएकाे प्रदर्शनमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि लागि पानीका फोहोरा र अश्रुग्यास प्रहार गरे भने प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरे । उनीहरुले ठाउँ-ठाउँमा आगजनी समेत गरेका छन्, जसका कारण प्रदर्शन हिंसात्मक बन्दै गएकाे छ ।

फ्रान्सेली राष्ट्रपति एमानुएल माकोँले सप्ताहअन्तमा देशभर भएका सरकार विरोधी प्रदर्शनको क्रममा राजधानी पेरिसमा भएका हिंसाको भर्त्सना गर्दै प्रदर्शनकारीहरूले आक्रोश पोख्ने क्रममा कानुन उल्लङ्घन गरेको बताएका छन् ।यसै क्रममा थुप्रै निजी तथा सार्वजनिक भवनमा आगजनी गरिएको र थुप्रै मानिस घाइते भएका छन् ।


आर्जेन्टिनामा जारी जी ट्वेन्टी शिखर सम्मेलनमा पुगेका राष्ट्रपति माक्रोँले घटनाकाे भत्सर्ना गर्दै आक्रोशित भएका छन् । पेरिसमा इन्धनको मूल्यवृद्धिविरूद्ध तेस्रो सप्ताहन्तमा भएको प्रदर्शनकको क्रममा आर्क डि ट्रिओम्फ स्मारक स्थलमा प्रहरी तथा प्रदर्शनकारीहरूबीच ठूल्ठूला झडपहरू भएका छन् ।

प्रदर्शनकारीहरूले राष्ट्रिय स्मारक आर्क डि ट्रीओम्फमाथि चढेर त्यसको अपमान गरेको भन्दै राष्ट्रपति माक्रोँले उनीहरूको कदमको निन्दा गरेका हुन् । झडपका क्रममा १७ जना सुरक्षा फौजका सदस्यसहित कम्तिमा ११० जना घाइते भएका छन् र २७० जनालाई प्रहरी नियन्त्रणमा लिइएको बताइएको छ । यस्तै १९० वटा आगलागी नियन्त्रणमा लिइसकिएको छ भने ६ वटा भवनहरू अझै जलिरहेका छन् । बिबिसी

 

प्रतिक्रिया