दमौली, १६ मङ्सिर : गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले निजी क्षेत्रका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
तनहुँ उद्योग वाणिज्य सङ्घ खैरेनीटार बजार एकाइको २३औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री लम्सालले लगानी सम्मेलन गरेर निजी क्षेत्रलाई आकर्षित गर्ने योजना बनाइएको बताउनुभयो । सरकार र निजी क्षेत्रको सहकार्यमा उद्योग स्थापना गरी युवालाई स्वदेशमा नै रोजगारीको व्यवस्था गरिने उहाँको भनाइ थियो । गण्डकी प्रदेशका ८५ गाउँपालिकामा रोजगार सिर्जना गर्न घरबास कार्यक्रमका लागि रु ३० करोड विनियोजन गरिएको मन्त्री लम्सालले बताउनुभयो । “निजी क्षेत्रसँगको सहकार्यमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना छ,” उहाँले भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डितले आर्थिक समृद्धिका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।
-रासस