चिनीयाँ राष्ट्रपति पनामा भ्रमणमा

रिता घिसिंग

पनामा सिटी, १७ मङ्सिर : चीनका राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणको क्रममा आइतबार पनामा पुग्नुभएको छ । मध्य अमेरिकी देश पनामा र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएयता चिनीयाँ राष्ट्रपतिको यो पहिलो भ्रमण हो । यी दुई देशबीच सन् २०१७ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

राष्ट्रपति सी र उहाँका श्रीमती पेङ लियुआनलाई पनामाका राष्ट्रपति हुँवा कार्लोस भरेला र उहाँकी श्रीमती लोरेना क्यासटिल्लो गार्सियाले पनामा विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

चिनीयाँ पाहुनाको स्वागतमा स्थानीय समुदायको एक समूहले सांस्कृतिक नाचगान प्रस्तुत गर्नुका साथै सडकमा दुबै देशको राष्ट्रिय झण्डा फहराइएको थियो ।

राष्ट्रपति सीले पनामामा भव्य स्वागत गरिएकामा पनामा सरकार र स्थानीय जनताप्रति कृतज्ञता प्रकट गर्दै प्रसन्नता व्यक्त गर्नुभएको छ ।

चिनीयाँ राष्ट्रपति सी अर्जेन्टिनामा भएको औद्योगिक राष्ट्रहरुको बैठक जी–२० मा सहभागी भएर पनामा पुग्नुभएको हो । यस भ्रमणका क्रममा पनामाका उच्चस्तरीय नेताहरुबीच द्वीपक्षीय वार्तालगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने अनुमान गरिएको छ ।

राष्ट्रपति सीले यसपटक चार ओटा देशको भ्रमण गर्नु हुनेछ । यसअघि उहाँले अर्जेन्टिना र स्पेनको भ्रमण गरिसक्नु भएको छ भने पनामापछि उहाँ पोर्चुगल जाने कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।
–रासस

प्रतिक्रिया