ऐतिहासिक राधाकृष्ण मन्दिरको ताम्रपत्र अनावरण

admin

काठमाडौँ, १८ मङ्सिर: उपराष्ट्रति नन्दबहादुर पुनले नागार्जुन नगरपालिकामा बन्न लागेको ऐतिहासिक राधाकृष्ण मन्दिरको आज ताम्रपत्र अनावरण गर्नुभएको छ । जगद्गुरु कृपालु प्रतिष्ठान (जेकेपी), नेपालले नागार्जुन–७ मा १२५ रोपनी क्षेत्रफलमा रु छ अर्बको लगानीमा सो मन्दिर निर्माण गर्न लागेको हो । प्रतिष्ठानका अनुसार मन्दिर इटालियन मार्वलबाट कलात्मक बन्नेछ । मन्दिरको ताम्रपत्र अनावरण गर्दै उपराष्ट्रपति पुनले मन्दिरको निर्माणपछि नेपाल धार्मिक पर्यटकीयस्थलका रुपमा विश्वमाझ चिनिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको धार्मिक सहिष्णुता विश्वकै लागि उदाहरणीय रहेको उल्लेख गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाललाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विस्तार गर्न राधाकृष्ण मन्दिरको निर्माणले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा जगदगुरु कृपालु परिषद्का प्रचारिकका डा बागेश्वरी देवीलगायतलाई चाँदीमा कुदिएको सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जगदगुरु श्री कृपालु महाराजको पुस्तक ‘प्रेम रस सिद्धान्त’ विमोचन गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष राजुप्रसाद कँडेलले ऐतिहासिक राधाकृष्ण मन्दिर कङ्क्रिटको प्रयोग नगरी चार वर्षभित्र निर्माण पूरा गर्ने जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया