‘खेलकूदको विकासका लागि योजनाबद्ध प्रयास’: खेलकूदमन्त्री विश्वकर्मा

admin

पोखरा, १८ मङ्सिर : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदको विकासका लागि सरकार योजनाबद्ध ढङ्गले अघि बढेको बताउनुभएको छ । निजी तथा आवाशीय विद्यालयको छाता सङ्गठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल (एन प्याव्सन)द्वारा आयोजित एन प्याव्सन खेलकूद महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले खेल क्षेत्रको विकास नभइकन देश समृद्धितर्फ नबढ्ने बताउनुभयो ।

“सुखी र समृद्ध नेपाल निर्माणका लागि सरकार खेल क्षेत्रको विकासमा कृयाशिल छ”, उहाँले भन्नुभयो । पोखरा रङ्गशाला निर्माणका लागि अर्थ मन्त्रालयबाट रु एक अर्ब ३२ करोड सुनिश्चिता भएको बताउँदै उहाँले छिट्टै बोलपत्र आह्वान गरी निर्माणलाई तीव्रता दिइने बताउनुभयो । नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले एन प्याव्सन कास्कीले खेल क्षेत्रमा जित्ने र सिक्ने काममा विद्यार्थीलाई सहभागिता गराएको भन्दै आभार व्यक्त गर्नुभयो । जिल्लाव्यापी खेलकूद महोत्सव गर्नेमा एन प्याव्सन कास्की नै पहिलो भएको उल्लेख गर्दै उहाँले यहाँको अनुकरण गर्दै अन्य २६ जिल्लामा पनि यस्ता कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो ।

नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तथा ओलम्पिक कमिटी सदस्य तेजबहादुर गुरुङले खेलाडी उत्पादन गर्न महोत्सव कोषेढुङ्गा सावित हुने बताउनुभयो । आजदेखि शुरु खेल महोत्सव आगामी मङ्सिर २१ गतेसम्म चल्ने छ । ‘एन प्याव्सन कास्कीको सङ्कल्प : खेलकूद शिक्षाको अभिन्न अङ्ग’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवका अवसरमा फुटबल, भलिबल, टेबुलटेनिस, ह्याण्डबल, वास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा सञ्चालन हुनेछ । महोत्सवमा नेशनल प्याव्सन कास्कीमा आवद्घ ४५ विद्यालयका करीब आठ हजार खेलाडी विद्यार्थीले सहभागिता जनाउने र विद्यार्थी तथा अभिभावक गरी ३० हजारले अवलोकन गर्ने एन प्याव्सन कास्कीले जनाएको छ ।
-रासस

प्रतिक्रिया