कोरियन प्रविधिको थेरापी काठमाडौँमा

admin

काठमाडौँ, १८ मङ्सिर : कोरियन प्रविधिको थेरापीमार्फत स्वस्थ्य सेवा प्रदान गर्न थालिएको छ । लामो समय अमेरिकामा बसेर नेपाल फर्कनुभएका बाँकेका प्रमेश शर्माले कोरियामा निर्मित थेरापी मेसिन नेपाल ल्याएर सेवा दिन थाल्नु भएको हो । उहाँले उक्त थेरापी मेसिनले शरीरमा तापक्रम बढाएर विकार पदार्थ बाहिर निकाले सन्तुलन कायम गर्ने दाबी गर्नुभयो । ‘बायो सेरामिक स्टेन’बाट बनेको कोरियन मेसिनद्वारा सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।

दक्षिण कोरियामा एक दशक अघिदेखि यस प्रकारको थेरापी उपचार पद्धतिको शुरु भएको हो । उक्त थेरापी सेन्टरको उद्घाटन गर्दै सङ्घीय सांसद प्रदीप यादवले स्वास्थ्य जीवनयापनका लागि थेरापीले सहयोग गर्ने धारणा व्यक्त गर्दै निःशुल्क सेवा प्रदान गरिनु निकै साकारात्मक भएको बताउनुभयो ।

‘काइनोज नेपाल’का सञ्चालक शर्माले विदेशबाट फर्केर केही गर्छु भन्ने सोचले आफूले निःशुल्क सेवा प्रदान गर्न थेरापी सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो । उक्त सेन्टरमा मेरुदण्ड, टाउको, खुट्टा र हातको थेरापी गरिनेछ । थेरापीबाट घुँडा, जोर्नी, कम्मर र ढाँडको दुखाई, रक्तचाप, मुटु र आँखालगायत सममस्याको समाधान गर्न सहयोग मिल्ने उहाँले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया