ट्राफिक व्यवस्थापन गर्दै ललितपुर महानगरपालिका

admin

ललितपुर, २० मङ्सिर: ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सुचीकृत यस स्थानमा सवारी साधनको चाप धेरै हुँदा पर्यटकलाई समेत बाधा पुगेकाले व्यवस्थापनका लागि अध्ययन थालिएको महानगरपालिकाले जनाएको छ ।

मङ्गलबजार र त्यस आसपासमा सवारी साधनको आवागमन कम गर्नका लागि अध्ययन भइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । दरबार क्षेत्र र आसपासमा पार्किङले यस क्षेत्रका सडक अस्तव्यस्त बनेकाले पार्किङ नदिने र सडक एकातर्फी मात्रै सवार िसाधन चल्न दिने महानगरपालिकाको योजना छ । सडक व्यवस्थापनको काममा नगर प्रहरी परिचालन गर्न महानगरले ५० नगर प्रहरीसमेत थप गर्दैछ ।

उहाँले भन्नुभयो, “पार्किङमुक्त बनाउने र एकतर्फी सवारी साधन सञ्चालन गर्ने यी दुवै काम हाम्रा लागि सजिलो भने छैन ।” महानगरपालिकाले शुरु गरेको ‘महानगर ट्राफिक योजना’अन्तर्गत सम्पदा क्षेत्रको ट्राफिक व्यवस्थापका लागि अध्ययन भइरहेको हो । स्थानीयवासीलगायत सबैले सहयोग गर्दा मात्रै यो योजना कार्यान्वयन गर्न सकिने उहाँले बताउनुभयो ।

पर्यटकको आगमन बढी हुने मङ्गलबजार, गावहाल, महापाल, सौगल, सुन्धारालगायत स्थानमा नै सवारी चाप बढी छ । ललितपुरको व्यापारिक केन्द्र पनि भएकाले जनप्रतिनिधि नहुँदा स्थानीय निकायले पटकपटक प्रयास गर्दासमेत एकातर्फी सवारी साधन सञ्चालन कार्यन्वयन हुनसकेको थिएन ।
-रासस

प्रतिक्रिया