मन्थली, मङ्सिर २१ : रामेछाप नगरपालिका–५ रामपुरमा लिफ्ट खानेपानी योजना निर्माण भएपछि रामपुरवासीको चार घण्टाभन्दा बढी समय खर्चेर खानेपानी बोक्ने दिनको अन्त्य भएको छ ।
नेपाल रेडक्रस सोसाइटी भुकम्प प्रतिकार्य कार्यक्रममार्फत बालकन्या लिफ्ट खानेपानी योजना निर्माण भएपछि रामपुरवासीले घरघरमा खानेपानीको सुविधा पाएसँगै रामपुरवासीको दैनिकी परिवर्तन भएको हो । आदिवासी जनजातिभित्रका तामाङ, सुनुवार, मगर, थामी र नेवार समुदायको मात्र बसोबास रहेको रामपुरमा लामो समयदेखि खानेपानीको ठूलो समस्या थियो । पानीकै कारण धेरै घर विस्थापित भएका थिए ।
कुल रु दुई करोड ६० लाख ८७ हजारको लागतमा निर्माण गरिएको खानेपानी योजनाबाट रामपुरका २२१ घरधुरीका एक हजार ५०८ जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् । नोपाल रेडक्रस सोसाइटीको तर्फबाट रु एक करोड ४३ लाख, रामेछाप नगरपालिकाबाट रु ४३ लाख ५४ हजार समुदायबाट रु १३ लाख ७० हजार र समुदायको श्रमदानबाट रु ६० लाख ५७ हजार लागतमा सो योजना निर्माण भएको हो ।
योजना हस्तान्तरण कार्यक्रमका लागि रामपुर पुगेका नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जिव थापाले वृहत खानेपानी योजनाको सफलतासँगै विरामी बोक्ने एम्बुलेन्स सहयोग गर्न पहल गर्ने बचन दिनुभएको छ । कार्यक्रममा रेडक्रस सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ एशिया प्यासिफिकका निर्देशक हेवेर कास्फियर होलान, जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का, नगरपालिकाका प्रमुख नरबहादुर मगर, नेपाल रेडक्रस सोसाइटी रामेछापका सभापति शिवकुमार कार्कीलगायतले मन्तव्य राख्नुभएको थियो ।
-रासस