निर्मला प्रकरणमा प्रहरीको बुद्धि पुगेन होला, तर प्रहरीको विकल्प अन्य संस्था हुन सक्दैन: पूर्वआईजी शाह

admin

कुरो २०६९ जेठ १८ गतेको हो । कुनै मिटिङमा भाग लिन म प्रहरी प्रधान कार्यालयबाट निस्केको मात्र थिएँ, फोनको घन्टी बज्यो । फोनको त्यो घन्टीले कुपन्डोलस्थित युएन पार्कमा भर्खरै सर्वोच्चका बहालवाला न्यायाधीश रणबहादुर वमलाई गोली हानिएको जानकारी गरायो । त्यति हाइप्रोफाइलको व्यक्तिलाई राजधानीमै दिनदहाडै गोली हानिएको अविश्वसनीय थियो । म त एकछिन अकमक्क नै परें । अरु कुरा सुन्दै नसुनी सिधै युएन पार्कतिर हानिए ।

घटनास्थल पुग्दा कोही पनि भेटिएनन्, सबैलाई नर्भिक हस्पिटल लगिसकिएको थियो । स्थानीय केही व्यक्तिहरूसंग बुझ्दा बंगलामुखी माताको दर्शन गरी फर्केर कार्यालयतर्फ जाँदै गर्दा केही मोटरसाइकलमा आएका केही व्यक्तिले न्यायाधीशलाई मात्र नभई सोही गाडीमा सवार अन्य २–३ जनालाई पनि गोली हानिएको रहेछ । टार्गेट न्यायाधीश नै थिए भन्नेमा कुनै शंका रहेन, अरुलाई साइलेन्ट गराउन मात्र हानिएको थियो ।

त्यसपछि म सोझै नर्भिक हस्पिटल पुगे । त्यहाँ तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलगायत सर्वोच्चका प्रायः सबैजसो न्यायाधीशहरूको उपस्थिति थियो । सबैको अनुहारमा आक्रोश, डर र आश्चर्यको मिश्रित भावहरू थिए । प्रधानन्यायाधीश खिलराज रेग्मीज्युसँग मैले ‘तराई मधेस घटना छानबिन आयोग’ मा बसेर काम गरिसकेको कारणबाट राम्रै सम्पर्क थियो । उहाँले मलाई राम्रै पुलिस अफिसर मान्नु हुन्थ्यो ।

त्यस घटनामा प्रायः सबै न्यायाधीशहरूमा ठूलै (राजनैतिक) शक्तिकेन्द्रको हात रहेको अनुमान गर्दै नेपाल पुलिसले अनुसन्धान गर्न नसक्ने सोचाइँ रहेको पाएँ । मलाई खिलराज रेग्मीज्यूले अप्रत्यक्षमा सबै न्यायाधीशहरूको सोचाइ बताउँदै नेपाल पुलिसलाई अनुसन्धान गर्न अप्ठेरो पर्न सक्ने भएकाले आयोग नै गठन गरी अनुसन्धान गर्दा के होला ? भनेर सोध्नुभयो ।

मैले उहाँलाई, श्रीमान्, जतिसुकै ठूलो आयोग गठन गरे पनि अनुसन्धान गर्ने नेपाल पुलिसले नै हो, मलाई यो घटनामा कुनै शक्तिकेन्द्रको हात छ जस्तो पनि लाग्दैन र रहेछ नै भने पनि नेपाल पुसिलले कुनै दवाव र प्रभावमा नपरी अनुसन्धान गर्ने हैसियत राख्छ, हजुरहरूले अन्यथा सोच्नुपर्दैन भनेपछि, उहाँले फेरि सोध्नुभयो, तपाईलाई यो घटनाको अनुसन्धान गर्न कति दिन लाग्छ ?

मैले भने, ‘अनुसन्धान गर्न यति नै समय लाग्छ भनेर किटानी त गर्न सकिँँदैन, तर पनि मलाई १५ दिनको समय चाहिन्छ । उहाँले फेरि सोध्नुभयो, ‘१५ दिनभित्र पत्ता लागेन भने के गर्नुहुन्छ ?’ मैले पनि, ‘त्यो अवधि भित्र पत्ता लगाउँछु, सकिन भने म आफंै श्रीमान्कहाँ आएर आयोग गठन गर्न सुझाव दिन्छु । यसलाई उहाँले सकारात्मक रूपमा लिनुभयो ।

म कार्यालय फर्केर मपछि हुनेवाला आइजी कुवेरसिंह राना, डीआईजी उपेन्द्र अर्याललगायत अनुसन्धानमा राम्रा भनी चिनिएका उपत्यकामै कार्यरत प्रहरी अधिकृतहरूको टिम गठन गरेर अनुसन्धान सुरु गरियो । नेपाल पुलिसको क्षमतामा पूरा विश्वास थियो ।खुब मिहेनत गरियो, रातरातभर काम गरियो, सम्भव भएसम्म सबै प्रविधि र स्रोत उपयोग गरियो । तर, केही सीप लागेन । १५ दिन पनि सकियो । उहाँहरूले शक्तिकेन्द्रउपर शंका गर्नुभएकाले त्यसको निवारणको निम्ति पनि म आफै गएर प्र.न्या. खिलराज रेग्मीज्यूसँग भनें, श्रीमान्सँग मागेको समयमा मैले अनुसन्धान गर्न सकिनँ, आयोग गठन गर्नुभए हुन्छ ।

आयोग गठन भयो, मैले पनि तीन महिनापछि अनिवार्य अवकाश पाएँ । आयोगले आफ्नो प्रतिवेदन पनि बुझायो, तर न्यायाधीश बमज्यूको हत्याको गुत्थी सुल्झिएन । अवकाश हुँदासम्म त्यस घटनाको अनुसन्धान पूरा गर्न नसकेकोमा मलाई पछिसम्म पनि खिन्न अनुभव भइरह्यो ।म पछि, कुवेरसिंह राना आईजी भएर १३ महिना बिताए । उनको पालामा पनि उक्त हत्याकाण्डको अनुसन्धान पूरा भएन । मलाई लाग्छ, दुई वर्षभन्दा पछि गएर मात्र नेपाल पुलिसले उपेन्द्र अर्याल आईजी भएको समयमा उक्त हत्याको गुत्थी सुल्झाउन सक्यो । तर, सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरू र आमजनताले सोचेको जस्तो कुनै पनि शक्तिकेन्द्रको संलग्नता भेटिएन ।

त्यसैले, अधिकांश चर्चित घटनाहरूमा आममानिसको रायभन्दा अनुसन्धानको निचोड बिलकुलै फरक देखिएको हुन्छ । कुनै पनि आपराधिक घटनाको अनुसन्धान दवाव र प्रभावमा हुन सक्दैन । दवाव र प्रभावमा गरिने अनुसन्धानले कहिलेकाँही वास्तविक अपराधी उम्किने मात्र होइन, निरपराधलाई अपराधी सावित गर्न पनि सक्छ ।दवाव र प्रभावमा काम गर्दा अनुसन्धान कचल्टिन गई निचोडमा पुग्न सोचेभन्दा ज्यादै लामो समय लाग्न सक्छ । कुनै पनि अपराधको अनुसन्धान गर्न यति नै समय लाग्छ भन्ने निश्चित हुँदैन । त्यति मात्र होइन, कहिलेकाँही ज्यादै लामो समयसम्म पनि अपराधी पत्ता नलाग्न सक्छ । दशकौ बित्दा पनि अपराधी पत्ता लगाउन नसकेको संसारमा थुप्रै घटनाहरू उदाहरणको रुपमा छन् ।

अहिलेको समयमा नेपाल प्रहरीले दवाव र प्रभावकै भरमा अपराधीलाई लुकाएर ब्यावसायिक छवि बिगार्दै आफैलाई सर्वत्र आलोचनाको सिकार बनाउँछ भन्ने लाग्दैन ।बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि कुनै पनि ठूला र चर्चित घटनाहरूको अनुसन्धानमा शक्तिकेन्द्रहरूको दबाब अक्सर आउँदैन र अपवादको रुपमा कसैले दवाव दिन खोजे पनि नेपाल पुलिसले अस्वीकार गरेको छ ।नेपालमा अपराध अनुसन्धानको एक मात्र बिज्ञ संस्था भनेको नेपाल पुलिस नै हो र यसको विकल्प कुनै पनि व्यक्ति, समिति, आयोग वा अरु कुनै संस्था हुन सक्दैन ।

अन्तमा,
बहुचर्चित कञ्चनपुर घटनामा पनि अनुसन्धानको सिलसिलामा खटिएका प्रहरी अधिकारीहरूको बुद्धि पुगेन होला, संवेदनशीलताको कमी पनि भयो होला, हेलचेक्र्याइँ पनि गरे नै होलान् । तर, प्रहरी अधिकारीहरूले कुनै पनि संवेदनशील घटनाको आफ्नै नियतवश वा शक्तिकेन्द्रको दवावमा अनुसन्धान राम्ररी नगरेको, जानीजानी बिगारेको वा अपराधी पत्ता लगाएर पनि सार्वजनिक नगरेको वा नपक्रेको भन्ने जुन आमजनताको धारणा बनेको छ, त्यसमा पटक्कै विश्वास लाग्दैन । समय समयमा राजनीतिक दवाव नआउला भन्न सकिँदैन, तर त्यसलाई चिरेर नेपाल प्रहरीले आफ्नो व्यावसायिक छवि जोगाएरै राखेको छ भन्नेमा दुई मत नहोला ।

प्रतिक्रिया