आँखा अस्पताल हेटौँडालाई रु ८४ लाखको उपचार मेशिन सहयोग

admin

हेटौँडा, २२ मङ्सिर: रोटरी क्लबअफ हेटौँडाको पहलमा सामुदायिक आँखा अस्पताल हेटौँडालाई रु ८४ लाख मूल्य बराबरको उपचार मेशिन सहयोगस्वरुप प्रदान गरिएको छ । रोटरी क्लब अफ अष्ट्रेलिया, तासमिनिया र ताइवानको सहयोगमा रु ८४ लाख ६० हजार मूल्य बराबरको आँखा जाँच गर्ने आधुनिक मेशिन अस्पताललाई प्रदान गरिएको हो ।

सुगरका बिरामीको आँखाको उपचारमा सहयोग पुग्ने उद्देश्यले सो मेशिन प्रदान गरिएको हो । रोटरी क्लब अष्ट्रेलियाका जेम्सविल्कसले रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष लेखराज पोखरेललाई प्रदान गरिएको उक्त मेशिन अस्पतालका चिकित्सक डा सुनील थकालीलाई हस्तान्तरण गरिएको छ ।

उक्त मेशिन नहुँदा सुगरका बिरामीको उपचारमा समस्या आएको थियो । विसं २०६५ मङ्सिर ५ गते स्थापित सो अस्पतालमा दैनिक २५० भन्दा बढी व्यक्तिले आँखा परीक्षण गराउने गरेको डा थकालीले भन्नुभयो । सो अस्पतालबाट हालसम्म ७० हजार व्यक्तिले आँखा परीक्षण गराइसकेका छन् ।
-रासस

प्रतिक्रिया