टोड्केमा पर्यटन प्रवद्र्धनको लागि बोर्ड स्थापना

कृष्ण रोकाया

बेनी, २३ मङ्सिर  : म्याग्दीको रघुगङ्गा र मङ्गला गाउँपालिका तथा बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्के क्षेत्रमा म्याग्दी जेसीजले पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम गरेको छ ।

जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय स्थलको प्रचारप्रसारको लागि अभियान नै सञ्चालन गरेको जेसीजले शनिबार टोड्केमा ‘पर्यटन प्रबद्र्धनात्मक बोर्ड’ स्थापना गरेको हो ।

समुद्री सतहदेखि दुई हजार ४६० मिटर उचाइमा अवस्थित टोड्केमा स्थापना गरिएको बोर्डको नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, रघुगङ्गा गाउँपालिका– ५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा, ६ का वडा अध्यक्ष मनकुमार शेरपुजा र मङ्गला गाउँपालिका–१ का वडा अध्यक्ष डेकबहादुर राम्जालीले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।

पर्यटन प्रवद्र्धन कार्यक्रममा जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रेष्ठले लुकेर रहेका पर्यटकीय स्थलको प्रचारप्रसारमा जेसीजले शुरु गरेको पर्यटन प्रवद्र्धन अभियानले सकरात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले टोड्केमा स्थापना गरिएको बोर्डले यस क्षेत्रमा आउने पर्यटकलाई आकर्षित गर्ने र यस क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा रघुगङ्गा –५ झिँ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा, ६ पाखापानीका अध्यक्ष मनकुमार शेरपुजा र मङ्गला गाउँपालिका–१ का वडाअध्यक्ष डेकबहादुर राम्जालीले टोड्के क्षेत्रको विकासमा दुबै गाउँपालिकाबाट संयुक्त पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संसारको सातौं अग्लो धौलागिरि हिमालसहित धौलागिरि र अन्नपूर्ण रेञ्जका एक दर्जन हिमाललाई नजिकबाट नियाल्न सकिने टोडकेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन प्रवद्र्धनात्मक कार्यक्रम गरिएको जेसीजका शाखा अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

कार्यक्रममा टोड्के हिल रिसोर्ट प्रालिका सचिव भीम शेरचनले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण टोड्के क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्न रिसोर्ट सञ्चालन गर्न लागिएको बताउँदै यस क्षेत्रको विकासमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले सघाउनुपर्नेमा जोड दिनुभयो ।

आँखै अगाडि दर्जन बढी हिमालको अवलोकन गर्न सकिने टोड्के क्षेत्रको विकासमा अहिले रिसोर्टसमेत सञ्चालनमा आएको छ । टोड्के हिल रिसोर्ट प्रालिले पर्यटकको खाना र बस्नको सुविधाको लागि करोडौँ लगानीमा रिसोर्ट निर्माण थालेको हो ।

रिसोर्ट सञ्चालन, खानेपानीको सुविधा विस्तार, सहज सडकको पहुँच, दृष्यावलोकनको लागि बोर्ड स्थापना लगायतका पर्यटन प्रर्वद्धनात्मक कार्यक्रमले टोड्के क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण सहयोग गर्ने टोड्के क्षेत्र विकास कोषका अध्यक्ष बाबुराम आचार्यले बताउनुभयो ।

म्याग्दी जेसीजले यसवर्ष बेनी नगरपालिका–२ लम्भीहिल र रघुगङ्गा गाउँपालिका–२ रुईसेमा समेत पर्यटन प्रवद्र्धनको लागि दृश्यावलोकन केन्द्र स्थापना गरिसकेको छ, भने नेपालकै लामो बेग र बाँदुक जोड्ने झोलङ्गे पुलमा समेत दृश्यावलोकन केन्द्र निर्माण गर्ने तयारी गरेको महासचिव वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया