छुईगोठमुक्त अभियानमा जनप्रतिनिधि

कृष्ण रोकाया

जुम्ला, २३ मङ्सिर : छुईप्रथालाई समाजबाटमुक्त गर्ने अभियानमा जुम्लाका जनप्रतिनिधि जुटेका छन् ।स्थानीय निकाय तथा सामाजिक सङ्घ संस्थाले महिला तथा धामीझाँक्रीमा चेतना जगाएपछि उनीहरु अहिले गाउँगाउँमा छुईगोठमुक्त गर्ने अभियानमा जुटेका हुन् ।

यही मङ्सिर २१ गते महिला तथा सरोकारवाला निकायले तिला गाउँपालिका– ८ पुरुगाउँलाई छुईगोठमुक्त गरिएको छ । तिला गाउँपालिकाको आयोजना तथा एक्सन बक्स नेपालको समन्वयमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी छुईगोठमुक्त गाउँ घोषणा गरिएको हो ।

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीका अनुसार महिला र धामीझाँक्रीलाई सचेतीकरण गर्दै छुईप्रथालाई गाउँबस्ती हँुदै गाउँपालिकालाई नै छुईगोठमुक्त गर्ने अभियानमा जुटेका बताउनुभयो । पुरु गाउँसहित नौ गाउँलाई छुईगोठमुक्त गरिएको वडाध्यक्ष सन्तवीर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी गाउँपालिकालाई छुईगोठमुक्त गरी सभ्य नागरिकको पहिचान दिने अभियानमा छौँ ।”

पछिल्लो समय स्थानीय निकाय गाउँपालिका तथा वडापालिका, विभिन्न महिला समूह, सञ्जाल तथा सर्वोदय नेपाल, क्याड र एक्सन बक्स जस्ता गैरसरकारी संस्थाले जनचेतनाकै कारण अन्धविश्वास न्यूनीकरण गर्दै छुईगोठमुक्त गर्ने अभियान चलाइरहेका छन् ।

सत्र गाउँ छुईगोठमुक्त

जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका–२१८ गाउँबस्तीमध्ये १७ गाउँबस्ती छुईगोठमुक्त भएका छन् । तिला गाउँपालिकाको पुरु गाउँसहित पोख्री, रावतवाडा, जोगीवाडा, ढिमकोट, चुलाकोट, थापागाउँ, डुङरी, खोलीगाउँ छुईगोठमुक्त भएका छन् ।

तातोपानी गाउँपालिकाका लाम्रा, श्रीनगर, हियाखोला, वाईराँका र जैतपुर गाउँ, पातारासी गाउँपालिकाका माथिल्होर्प, तलिल्होर्प गाउँ र हिमा गाउँपालिकाको महाबैपाथरखोला गाउँलाई यसअघि नै छुईगोठमुक्त गरिसकिएको छ । रासस

प्रतिक्रिया