महान छोरो जसले बुबाको सपना पुरा गर्न छ रोपनीमा जमिनमा निर्माण गरे कृत्रिम ताल

शर्मिला गुरुङ

बेझाड, २४ मङ्सिर : रामपुरका स्थानीयवासी कृष्णप्रसाद भण्डारीले बुबाको सम्झनामा कृत्रिम ताल निर्माण गर्नुभएको छ ।

भण्डारीले रामपुर नगरपालिका–५ स्थित तल्लो भम्बक बहखोला किनार नजिकै छ रोपनी जमीनमा स्व बुवा हरिकृष्ण शास्त्रीको नाममा ताल निर्माण गर्नुभएको हो ।

“बुबाको पहिलेदेखिको सपना रहेको र रामपुरको पर्यटन विकासलाई अगाडि बढाउन मद्दत पुगोस् भन्ने उद्देश्यले ताल निर्माण गरिएको हो”, उहाँले भन्नुभयो । पर्याप्त सिँचाइ सुविधा पुगेको तीन बाली उत्पादन हुने खेतीयोग्य जमीन मासेर ताल निर्माण गरिएको छ ।

छ रोपनी खेतमध्ये पाँच रोपनीमा ताल विस्तार भइसकेको छ भने बाँकी भागमा बाल उद्यान तथा पार्क निर्माण गर्ने तयारी भइरहेको भण्डारीले बताउनुभयो । अनुमानित रु २५ लाखको लागतमा कृत्रिम ताल र पार्क निर्माण कार्य सम्पन्न हुने उहाँको भनाइ छ । पार्क परिसरमा माटोको घरसमेत निर्माण गरिएको छ । यसले थप आकर्षक बनाएको छ ।

तालमा एक वटा आधुनिक डुङ्गा र एक वटा स्थानीय सामानबाट निर्माण गरिएको डुङ्गा सञ्चालन भइरहेको छ । स्थानीयवासी नन्दबहादुर कुमालले तालमा डुङ्गा सञ्चालन गर्दै आउनुभएको छ ।

लोप भयो माछा मार्ने पुर्खौली पेशा

माछा मारेर जीविका चलाउँदै आएका रामपुरका दरै समुदायको पुरानो पेशा अहिले लोप भएको छ । यहाँका दरै समुदायको चिनारीको रुपमा रहेको माछा मार्ने पुर्खौली पेशा विस्थापित हुन पुगेको हो ।
चाडपर्वमा माछाको परिकार अनिवार्य चाहिने भएको हुँदा माछा मार्ने, जङ्गली जनावरसँग शिकार खेल्ने गरेर पुराना पुस्ताले जीविकोपाजर्न गर्दै आएको पुर्खौली पेशा अहिले लोप भइसकेको नेपाल दरै उत्थान समाज रामपुरका अध्यक्ष छमबहादुर दरै बताउनुहुन्छ ।

“जिल्लामै लोपोन्मुख अवस्थामा रहेको दरै समुदायको चिनारीको पुर्खौली पेशालाई निरन्तरता दिन नसक्दा पहिचान नै गुम्दै गएको छ”, उहाँले भन्नुभयो । माछा मार्ने पेशा मात्र होइन दरै समुदायले बोल्ने दरै भाषा पनि अहिले हराउन थालेको उहाँको भनाइ छ ।
यहाँ दरै समुदायका झण्डै ३० घरपरिवारका १५० सदस्य बसोबास गर्दै आइरहेका छन् ।

अहिले यी समुदाय कृषि, पशुपालन तथा व्यापार व्यवसाय, वैदेशिक रोजगारमा आबद्ध रहेको नेपाल दरै उत्थान महिला समूह रामपुर अध्यक्ष टकमाया दरै बताउनुहुन्छ ।
पाल्पाको मदनपोखराको कोकलबाट दरै समुदाय रामपुर बेझाड बजारको नजिकै १५० वर्ष अघि बसाइँसराइ गरेका हुन् । रासस

प्रतिक्रिया