सांस्कृतिक महोत्सव हुने

admin

कैलाली, २४ मङ्सिर : सुदूरपश्चिम प्रदेशकै कला, संस्कृति, पर्यटन, व्यापार, कृषि प्रवद्र्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–१४ को फूलवारी गाउँमा महोत्सव आयोजना हुने भएको छ । स्थानीय कला संस्कृति, कृषि पर्यटन र व्यापार प्रवद्र्धन गर्न यही पुस ५ देखि १४ गतेसम्म महोत्सवको आयोजना गरीएको हो ।

फूलवारी गाउँमा रहेको न्यू बुद्ध स्पोर्ट युवा क्लबले उक्त महोत्सवको आयोजना गरेको हो । क्लबले फूलवारीमा आयोजना गर्न लागेको यो तेस्रो संस्करणको महोत्सव हो । महोत्सवमा स्थानीय एवं राष्ट्रियस्तरमा उत्पादन सेवाहरुको वृहत व्यापार मेला, स्थानीय तथा सुदूरपश्चिम प्रदेशमा उत्पादित कृषि उपजको प्रतियोगितात्मक प्रदर्शनी, खुल्ला लोकदोहोरी प्रतियोगिता, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, आदिवासी जनजातिहरुको रहनसहन, संस्कृति, वेषभूषाका साथै खानाका परिकार महोत्सवको मुख्य आकर्षणको केन्द्र रहेको छ ।

व्यवस्थित थारु घरवास, तामाङ गाउँ रहने महोत्सवमा १०० बढी विभिन्न व्यावसायिक कक्षहरु रहने महोत्सव मूल आयोजक समारोह समितिका संयोजक महेश गोलेले जानकारी दिनुभयो । महोत्सवमा झण्डै रु ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ भने रु ५० लाख बराबरको कारोवार गरिने संयोजक गोलेले बताउनुभयो ।
-रासस

प्रतिक्रिया