कुश्मा, २९ मङ्सिर : अपाङ्गता भएका व्यक्तिले पनि अन्य व्यक्तिभन्दा अब्बलरुपमा उद्यम सञ्चालन गर्न सक्छन्भन्दा अचम्म लाग्न सक्छ । कुश्मा नगरपालिका–११ सिल्मी मान्डाँडाका युवा उद्यमी मनिलाल पौडेलले सामान्य तालीमका आधारमा आफ्नो क्षमता प्रयोग गरी घरमै बाँस र निगालोका विभिन्न सामान बनाएर साना उद्योग शुरुआत गरेर देखाउनुभएको छ ।

उहाँले विभिन्न सामान निर्माण गरी जिल्ला सदरमुकाम तथा जिल्ला बाहिरसमेत बिक्री वितरण गर्दै आइरहनुभएको छ । बाँसका कलम जिल्लामा आउने पर्यटक तथा अतिथिका लागि उपहार दिने गरिएको छ ।
बाँस तथा निगालोका सामान उत्पादन गर्नुभएका पौडेल विदेशमा समेत आफ्नो उत्पादन पठाउनु हुन्छ । स्थानीय साधन र स्रोतको समुचित प्रयोग गर्दै उद्यमी बन्नुभएका पौडेलले आकर्षक सामान बनाएर फुर्सदको समय राम्रैसँग उपयोग गर्नुभएको हो ।
बाँस र निगालोजस्ता स्थानीय कच्चा पदार्थलाई विभिन्न रुप र आकारमा कलमका साथै बैठक कोठा सजावट र उपहारमा प्रयोग हुने सामान बनाई आफूले ग्राहकको मन जित्न सफल भएको उहाँ बताउनुहुन्छ ।
सरकारी कार्यालय, जिल्लामा विभिन्न उद्यमी, पर्वत उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग महासङ्घलगायत सङ्घसंस्थाले समेत पछिल्ला समय जिल्लामा आउने अतिथिका लागि पौडलकै उत्पादन उपहार स्वरूप दिने गरेका छन् । आफूले बाँस तथा निगालोका सामान उत्पादन गरेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न खोजे पनि अपेक्षा गरे जति सहयोग सरकारी निकायबाट हुन नसकेको उहाँको गुनासो छ ।
निजीस्तरमा अपाङ्गता भएका पौडेलको उत्पादनलाई प्रवद्र्धन गर्नुपर्नेमा पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्मा जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ , “पौडेलको उत्पादनलाई प्रोत्साहित गर्न र स्थानीय बाँस तथा निगालोलाई प्रवद्र्धन गर्न जिल्ला आउने अतिथिलाई बाँसका कलम चिनो दिने गरेका छौँ ।”
‘पर्वत एमएलपी उपहार कलम उद्योग’ का नाममा व्यवसाय सञ्चालन गर्नुभएका पौडेलले आफ्नो उद्योगको प्रचारप्रसार नगरेपनि निर्माण गरिएका सामग्री भने उहाँको उद्योगमा एक दिन पनि रहन पाउँदैनन् ।
उहाँले निर्माण गर्नुभएको कलम धेरै अतिथिलाई उपहार दिएको एकता युवा क्लबका पूर्वअध्यक्ष अच्युत तिवारी बताउनुहुन्छ । उहाँले पौडेल अपाङ्गता भइकन पनि नयाँ सोचका साथ अघि बढेकाले त्यसलाई प्रोत्साहन दिन आफूहरुले सोही सामान प्रयोग गर्ने गरेको बताउनुहुन्छ । अपाङ्गता भएको व्यक्ति भएर पनि पनि हिम्मतका साथ सीपमूलक कार्यमा जुटनुभएका पौडेलबाट अन्य धेरैले स्वदेशमै आयआर्जनका लागि केही गर्न सकिँदो रहेछ भन्ने प्रेरणा लिन लिन थालेका छन् । रासस