भरतपुरमा गणेशधाम बन्दै

शर्मिला गुरुङ

भरतपुर, १ पुस : भरतपुरमा गणेशधाम निर्माणका लागि रु १० करोड ८० लाख अर्थ सङ्कलन भएको छ । गत मङ्सिर २२ देखि २९ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत धनधाञ्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ बाट सो रकम सङ्कलन भएको हो ।

भरतपुर महानगरपालिका– ११ मा रहेको एतिहासिक तथा धार्मिक क्षेत्र गणेशस्थानलाई गणेशधाम निर्माणार्थ स्थानीयवासी सहभागिता जुटाउन महायज्ञ आयोजना गरिएको मूलआयोजक समारोह समतिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिनुभयो । महायज्ञमा उठेको रकमले मात्रै गणेशधाम निर्माण सम्भव नभएकाले निर्माणको चरणमा पनि आर्थिक सङ्कलन गरिने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका र प्रदेश सरकारले पनि गणेशधाम निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । शनिवार आयोजित समापन कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले गणेशधाम निर्माणका लागि महानगरको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

महायज्ञका प्रमुख वाचक पण्डित दीनबन्धु पोख्रेलले गणेशधामलाई केन्द्र बनाएर धार्मिक परिपथ बनाउनुपर्ने तथा देवघाट, मौलाकालिका, शास्वतधाम र गणेशधामलगायतका क्षेत्रले चितवन र नवलपुरलाई धार्मिक तथा आध्यात्मिक नगरिका रुपमा विकास गर्ने बताउनुभयो ।

कार्यक्रममा गणेशधामको परिकल्पनाकार सांसद विजय सुवेदीलाई अभिनन्दन गरिएको थियो । धाम निर्माणका लागि प्रदेश नं–३ सरकारले समेत रु ८० लाख विनियोजन गरिसकेको छ ।

गणेश धामको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ । डिपिआर अनुसारको काम सम्पन्न गर्न करीब रु ८० करोड लाग्ने अनुमान गरिएको छ । ४४ बिगाहामा गणेशधाम निर्माण गर्ने योजना छ । २५ बिगाहामा पोखरी निर्माण गरिने छ । डिपिआरअनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव पार्वर्तीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचना निर्माण हुनेछ । रासस

प्रतिक्रिया