खेलकूद महोत्सवको उपाधि ग्रिनस्टारलाई

शर्मिला गुरुङ

दमौली, १ पुस : दमौलीमा आज सम्पन्न आठौँ खेलकूद महोत्सवको उपाधि व्यास नगरपालिका–५ चापाघाटस्थित ग्रिनस्टार बोर्डिङ स्कूलले जितेको छ ।

नेशनल प्याब्सन तनहुँले मङ्सिर २६ गतेदेखि सञ्चालन गरेको सो महोत्सवको विभिन्न विधामा ७८ अङ्क प्राप्त गरी ग्रिनस्टारले उपाधि जितेको हो । प्रतियोगितामा भानु नगरपालिका–३ खहरेस्थित जयबुद्ध बोर्डिङ स्कूल ४८ अङ्कका साथ द्वितीय र व्यास नगरपालिका–५ साँगेस्थित व्यास मनकामना बोर्डिङ स्कूल ३८ अङ्कका साथ तृतीय भए । प्रथम हुने विद्यालयलाई रनिङशिल्ड, ट्रफी र रु पाँच हजार, द्वितीयलाई रु चार हजार तथा तृतीय हुने विद्यालयलाई रु तीन हजार पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा ३० अङ्कका साथ बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित मनास्लु बोर्डिङ स्कूल चौथो, ३० अङ्कका साथ व्यास नगरपालिका–१ भादगाउँस्थित न्यू मनकामना बोर्डिङ स्कूल पाँचौ, २६ अङ्कका साथ व्यास नगरपालिका–१ भादगाउँस्थित लालीगुँरास बोर्डिङ स्कूल छैटौँ, २६ अङ्कका साथ व्यास नगरपालिका–४ दमौलीस्थित दमौली सेकेण्डरी बोर्डिङ स्कूल सातौँ, २४ अङ्कका साथ सामुदायिक अङ्ग्रेजी बोर्डिङ स्कूल आठाँै र १६ अङ्कका साथ मध्यनेपाल नगरपालिका–४ स्थित भविष्य निर्माण बोर्डिङ स्कूल नवौँ हुन सफल भएको छ ।

भलिबल प्रतियोगितामा व्यास मनकामना बोर्डिङ स्कूल प्रथम, जयबुद्ध बोर्डिङ स्कूल द्वितीय र ग्रिनस्टार बोर्डिङ स्कूल तृतीय भए । भलिबलमा ग्रिनस्टारका मोतीलाल थापा, व्यास मनकामनाका प्रताप राना र न्यू मनकामनाका निश्चल दरै उत्कृष्ट खेलाडी घोषित भए । विजेता स्कूल तथा खेलाडीलाई नेशनल प्याब्सनका पूर्वकेन्द्रीय सचिव दिपेन्द्र चौहान, पूर्वकेन्द्रीय सदस्य सन्त तामाङ, जिल्ला अध्यक्ष रामकृष्ण विक, सचिव ईश्वरराज पन्थलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । महोत्सवमा ३५ विद्यालयका ९९१ छात्रछात्रा सहभागी थिए । रासस

प्रतिक्रिया