जाजरकोट, २ पुस : पढाइमा कमजोर तथा घरको आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकाले उमेर नपुग्दै विवाह भएको पाइएको छ ।
उमेर नपुग्दै विवाह नगर्न आग्रह गर्दा पनि बालविवाह गर्ने क्रम नरोकिएको पञ्च भयार माध्यामिक विद्यालयका शिक्षिका नन्दा शाहीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका छात्राको उमेर नपुग्दै बिहे हुने गरेको छ । विभिन्न आर्थिक प्रलोभनमा परेर, कम उमेरमा बिहे गर्नेको सङ्ख्या बढेको सरोकारवाला बताउँछन् ।
आर्थिक अवस्था कमजोर भएका परिवारका छोरी धनीसँग बिहे गरेमा राम्रो लगाउने, मीठो खाने भ्रमका कारण छिटो बिहे हुने गरेको छ । कम उमेरका छात्रा र छात्र देखासिकी गरेर लहलहैमा बिहे हुने गरेको पनि पाइएको छ ।
अभिभावकको उक्सावट, सानै उमेरमा नाति, नतिना देख्ने सोचका कारण अधिकांशको सानै उमेरमा बिहे हुने गरेको छ । गैरदलित भन्दा दलित समुदायका छात्रछात्रा सानै उमेरमा बिहे गर्ने गरेको शिक्षक बताउँछन् । विद्यालयमा कक्षा छोड्नेको सङ्ख्या दलित समुदायकै रहेको पाइन्छ । स्थानीय सरकार, विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने सङ्घ, संस्थाले बालविवाह न्यूनीकरणका लागि अभियान चलाए पनि दुरदराजको भू–भागमा सानै उमेरमा बिहे गर्नेको सङ्ख्या अत्यधिक रहेको छ ।
जिल्लामा बिहे गर्ने उमेरका अधिकांश किशोरीहरु आमा बनेका छन् । ग्रामीण क्षेत्रमा सञ्चार माध्यमको पहुँच नहुनु र आमा, बाबाले छिटो नातिनातिना भएको देख्ने चाहनाले गर्दा बालविवाहको क्रम रोकिएको छैन । खासगरी बालिकालाई रजस्वला हुनुअघि नै बिहे गरिदिनु पर्छ भन्ने मान्यता पनि कतिपय समुदायमा रहेको छ ।
बिहेपछि पढाइ र आमा, बच्चाको अवस्था कमजोर भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । विद्यालयमा पढ्दापढ्दै बिहे गर्दा अधिकांशले पढाइ छाडेर घर सम्हालेर बसेका छन् । केहीले सानै उमेरमा बिहे भएकामा पछि पछुतो मान्ने गरेको पनि शाह बताउनुहुन्छ । विद्यालयमा पढ्दापढ्दै धेरैजसो छात्रछात्राको विवाह हुने गरेकाले उनीहरुले पढाइलाई निरन्तरता दिन नसकेको सेफ द चिल्डे«नका मनोज सुनुवारले जानकारी दिनुभयो ।
कम उमेरमा विवाह गरेर उमेर नपुग्दै आमा बन्दा मानसिक, शारीरिक असर पर्नुका साथै बिहे गर्ने उमेरमा सम्बन्ध विच्छेद हुने घटना बढेको छ । जिल्ला अदालतको एक तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा दर्ता भएको ५१ वटा सम्बन्ध विच्छेदका मुद्दामा ४१ जोडीको उमेर ३० वर्ष मुनि रहेको छ । यी सबै सम्बन्ध विच्छेद गर्ने जोडीको विवाह १९ वर्ष नपुग्दै भएको थियो । मुलुकी देवानी तथा फौजदारी संहितामा २० वर्ष नपुग्दै विवाह गरेको पाइए बालविवाह ठहर हुने उल्लेख छ ।
बालबालिकाको स्थिति प्रतिवेदन अनुसार जाजरकोटमा ६७ हजार ३३२ जना विवाहितमध्ये १९ वर्ष नपुग्दै ४९ हजार ८६२ अर्थात ७४ प्रतिशतले विवाह गर्ने गरेका छन् । प्रतिवेदन अनुसार १६५ जनाले १० वर्षकै उमेरमा विवाह गरेको उल्लेख छ । १० देखि १४ वर्षसम्मका पाँच हजार ६६८ जनाले बालविवाह गरेका छन् ।
त्यस्तै १५ देखि १९ वर्षको उमेरमा ४४ हजार २९ जना बालबालिकाको विवाह गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । बालविवाह गर्नेमा बालकको तुलनामा बालिकाको सङ्ख्या धेरै रहेको छ । बालविवाह गरेकामध्ये ६२ दशमलब ८७ प्रतिशत बालिका र ३७ दशमलब १३ प्रतिशत बालक रहेका छन् । हेमन्त केसी, रासस