काठमाडौँ, ३ पुस : पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा तुलसी गिरीलाई राजनीतिकर्मीले सिद्धान्तप्रति निष्ठावान् नेताका रुपमा स्मरण गर्नुभएको छ । तीक्ष्ण बौद्धिक क्षमता र राष्ट्रवादी भावनाका नेता गिरीको आज बिहान उहाँकै निवास बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा निधन भएको थियो । उहाँप्रति श्रद्धाञ्जलि दिन शवलाई निवासमै राखिएको छ । बुधबार दिउँसो दुई बजेपछि डा गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने श्रीमती सराह गिरीले राससलाई जानकारी दिनुभयो ।

उहाँलाई श्रद्धाञ्जलि दिन केही नेता, शुभेच्छुकलगायत निवासमा पुगेका छन् । शवलाई निवासमै बाकसमा हालेर राखिएको छ । मूलद्वारबाट नै रातो कार्पेट बिच्छ्याएर दायाँबायाँ टेबलमा फूलका गमलाले सजाइएको छ । पञ्चायती पृष्ठभूमिका नेता कार्यकर्ता निवासमा श्रद्धाञ्जलि व्यक्त गर्न निवास पुगेका छन् । यो समाचार तयारपार्दासम्म ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका शीर्ष नेताको उपस्थिति देखिएको छैन । विसं २०६१ माघ १९ गतेको शाही कदमपछि तत्कालीन राजा ज्ञानेन्द्रको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्मा सँगै काम गर्ने अवसर पाउनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का अध्यक्ष गिरीलाई इमान्दार एवं निस्वार्थ राजनीतिक व्यक्तित्वका रुपमा सम्झनुहुन्छ ।
“विसं २०१५ को निर्वाचनपछि बिपी कोइरालाले डा गिरीको क्षमता देखेर पहिले परराष्ट्र सहायक मन्त्री र पछि मन्त्री बनाउनुभयो, छोटो अवधिमा नेपाली काङ्ग्रेसको महामन्त्री बन्ने अवसर पाउनुभयो”–डा गिरीको राजनीतिक पृष्ठभूमि स्मरण गर्दै उहाँले भन्नुभयो । पहिलो संसदीय निर्वाचनमा काङ्ग्रेसको दुई तिहाई बहुमतसहित बिपी प्रधानमन्त्री बन्ने वातावरण बनेको थियो । राजा र भारत दुवै बिपीको विपक्षमा रहेकाले डा गिरीले नै मध्यस्थताको भूमिका निर्वाह गरी प्रधानमन्त्री बनाउने वातावरण तयार भएको नेता थापाको भनाइ छ ।
यससम्बन्धी वातावरण बनाउन डा गिरीले भारत भ्रमण समेत गर्नुभएको थियो । विसं २०१७ पुस १ गतेको शाही कदमका लागि डा गिरीले राजालाई सहयोग गर्नुभएको थियो । त्यसै वर्ष पुस १२ गते गठन भएको मन्त्रिपरिषद्को उपाध्यक्षमा उहाँ नियुक्त हुनुभयो । उपाध्यक्षपछि पञ्चायती व्यवस्थाको पहिलो प्रधानमन्त्री हुने अवसर पनि डा गिरीले नै पाउनुभयो ।
नेता थापा डा गिरीलाई पञ्चायतको सिद्धान्तकार नै मान्नुहुन्छ । विसं २०३६ को जनमत सङ्ग्रहमा पहिले निस्क्रिय बस्नुभएका उहाँ पछि पञ्चायतका पक्षमा सक्रिय हुनुभएको थियो । पञ्चायत कि बहुदल भनेर जनमत संग्रह नै गर्नुहुन्न भन्ने डा गिरीको मत थियो । जनमत सङ्ग्रहपछि पञ्चायती व्यवस्थाको सुधारका लागि संविधान संशोधनको प्रक्रिया शुरु भएपछि विरोधमा डा गिरी निस्क्रिय बस्नुभएको थापाको भनाइ छ । संविधान संशोधन गर्न थालेपछि पञ्चायत व्यवस्था धराशायी हुने उहाँको तर्क थियो ।
माधव नेपाल घण्टौँ आएर डा गिरीलाई भेट्ने गर्नुभएको थियो । पत्रकारद्वय जीवराम भण्डारी र विजयकुमार पाण्डे नियमित रुपमा डा गिरीको सम्पर्कमा पुग्नुहुन्थ्यो । डा गिरीले पूर्वराजाहरु महेन्द्र, वीरेन्द्र एवं ज्ञानेन्द्र गरी तीनै जनाको शासन कालमा उपाध्यक्ष एवं प्रधानमन्त्री भएर काम गर्ने अवसर पाउनुभयो । पछिल्लो पटक नेता गिरी बिरामी भएर मेडिसिटी अस्पतालमा भर्ना हुनुभएका बेला पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले समेत भेटघाट गर्नुभयो । प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई लगायतका नेता पनि निवासमै गएर डा गिरीलाई भेट्ने गर्नुभएको श्रीमती सराहले राससलाई सुनाउनुभयो ।
कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको हो । सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गर्नुभएका गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । बुधबार दुई बजेपछि निवास बूढानीलकण्ठबाट शव यात्रा गरिने डा गिरीको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय गिरीका श्रीमती, दुई छोरा र चार छोरी हुनुहुन्छ । डा गिरीलाई श्रद्धाञ्जलि दिन पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता नेपाल, पूर्वमन्त्री सुनिलबहादुर थापालगायत सिद्धार्थ कोलनी पुग्नुभएको थियो ।
-रासस