डोटी, ३ पुस: : जिल्ला चेम्बर अफ कमर्शले पहिलो पटक आगामी फागुन १७ देखि २७ गतेसम्म दीपायलको पिपल्ला बजारमा प्रादेशिक महोत्सवको आयोजना गर्ने भएको छ । भ्रमण वर्ष २०२० लाई समेत सहयोग पु¥याउने गरी चेम्बरले सेतीको हिरा, खप्तडको मोती, व्यापार, कृषि, पर्यटन र जलस्रोतबाट बनाउँछौँ, ‘समुन्नत डोटी’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको अध्यक्ष केवी साउदले जानकारी दिनुभयो ।

महोत्सवबाट डोटेली कलासंस्कृति प्रवद्र्धन, जिल्लामा रहेका धार्मिक, ऐतिहासिक, पर्यटकीयस्थलको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी, डोटेली खाना, परिकारको प्रदर्शनी र जिल्लामा लगानीको वातावरण सिर्जना गर्न मद्दत पुग्ने अपेक्षा गरिएको अध्यक्ष साउदले बताउनुभयो । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुति, हेलिकप्टर चार्टर गरी खप्तड, अपी साइपाललगायत सुदूरपश्चिम प्रदेशका पर्यटकीयस्थलको अवलोकन भ्रमण, प्याराग्लाइडिङ, बञ्जी जम्पिङ, सेती नदीमा ¥याफ्टिङ, स्थानीयस्तरको लोक तथा डेउडा गीत प्रतियोगिता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
उद्योग वाणिज्य सङ्घको उपशाखा
उद्योग वाणिज्य सङ्घले जोरायल गाउँपालिकाको बुडरमा आफ्नो उपशाखा विस्तार गरेको छ । डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलको उपस्थितिमा उपशाखाको नयाँ कार्यसमितिसमेत चयन गरिएको सङ्घले जनाएको छ ।
बुडर तथा आसपासका क्षेत्रमा रहेका उद्योगी तथा व्यापारीको भेलाबाट उपशाखाको अध्यक्षमा डम्मरबहादुर पुनमगर, वरिष्ठ उपाध्यक्ष भोजबहादुर मल्ल, वाणिज्यतर्फको उपाध्यक्षमा प्रेमबहादुर रावल, महासचिवमा लालबहादुर मल्ल, सचिव विजय गाहामगर र कोषाध्यक्षमा मुकुन्द पन्त रहनुभएको छ । सो शाखाबाट बुडर, जोरायल, गैरा, बिपीनगर, खेडेउली र बाघछेडा क्षेत्रका व्यापारीले सेवा पाउने छन् ।
कर्मचारी मिलन केन्द्रमा पौड्याल
कर्मचारी मिलन केन्द्र डोटीको तेस्रो साधारणसभाबाट शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख अनन्तकुमार पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । साधारणसभाबाट सर्वसम्मत चयन गरिएको नयाँ कार्यसमितिमा उपाध्यक्ष भू तथा जलाधार संरक्षण अधिकृत हरिवंश आचार्य, सचिव डिभिजन वन कार्यालयका रेञ्जर सुरेश रोकाया, सहसचिव जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता पूर्णबहादुर केसी र कोषाध्यक्षमा कृषि विकास बैङ्कका शाखा प्रबन्धक दीर्घबहादुर शाह रहनुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै कर्मचारी मिलन केन्द्रका संरक्षक तथा प्रजिअ यादव सुवेदीले कर्मचारी मिलन केन्द्रलाई आम कर्मचारीको साझा चौतारीका रुपमा विकास गर्दै रचनात्मक काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
-रासस