काठमाडौँ, ३ पुस: सामाजिक विषयवस्तुमा आधारित नाटक ‘लिलामे माइलो’ को हालसम्म पाँच हजारले अवलोकन गरेका छन् । गत मङ्सिर १४ गतेदेखि शुरु भएको नाटकमा हालसम्म ९७ पटक नाटक मञ्चन गरिएको र दैनिक ८० देखि ८५ जनाले अवलोकन गरिरहेका नाटकका कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिनुभयो । अहिले बनिरहेका अन्य नाटकभन्दा सो नाटक भिन्न विषयवस्तुमा बनाइएको उहाँले बताउनुभयो ।

नाटक यही पुस ७ गतेसम्म बुधबारबाहेक साढे चार बजेबाट सञ्चालन भइरहेको र बिदाको दिन दिउँसो १ बजेबाट मञ्चन भइरहेको छ । सो नाटक मगर समुदायको कथावस्तुलाई लिएर बनाइएको छ । कुञ्ज नाटक घरको प्रस्तुति र गौतमको निर्माणमा बनेको नाटकको कथा÷निर्देशक प्रभाकर न्यौपाने तथा नाट्य रुपान्तरण राज थापा काउचाले गर्नुभएको छ ।
सो नाटकमा सलमान खान गुरुङ (माइला), निशा पाख्रिन (प्याकुली), राजन भुजेल (दुधे), पुष्पराज अवस्थी (जिम्वाल), विजय नेपाल (सानकाजी), वीरेन्द्र खाति, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), सञ्जीव राई (गाउँले), नमस्ते दिवाकर घिमिरे (सोमे), विपना थापा (जुुनु), वीरेन्द्र खाती, शिला राना मगर, सचिन मल्ल (धरापे), सङ्गीता थापा, सुनिल मगर (झप्ते), ललित मगर (लोके), चक्र विष्ट (गाउले) र पारुहांग राई (बनकाँडे) कलाकार छन् ।
-रासस