माछापालन व्यवसायबाट मनग्य आम्दानी लिँदै कृषक

शर्मिला गुरुङ

बेझाड, ४ पुस : माछापालन व्यवसायबाट पाल्पाका कृषकले मनग्य आम्दानी लिन थालेका छन् । आधुनिक पोखरी निर्माण गरी व्यवसाय गर्न थालेपछि यहाँका कृषकले माछापालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएका हुन् ।

घरायसी प्रयोजनका लागि मात्र स–साना पोखरीमा जङ्गली जातका माछापालन गरेका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले आर्थिक वर्ष ०७०/०७१ देखि साविक जिल्ला कृषि विकास कार्यालयले माछापालनकार्यक्रममार्फत सहयोग गरेपछि जिल्लामा माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो ।

कार्यालयले परम्परागत शैलीमा माछापालन गरेका कृषकलाई व्यवसायउन्मुख बनाउन प्राविधिक तथा आर्थिक सहयोग गरेको छ । अन्य पेशा तथा व्यवसायका तुलनामा माछापालन व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएको माछापालन व्यवसायी सङ्घ जिल्ला अध्यक्ष एवं अगुवा कृषक महेश्वर पन्त बताउनुहुन्छ । “उत्पादित माछा बिक्री गर्न बजार सहज भएपछि यस व्यवसायमा कृषक आकर्षित हुँदै गएका छन्”, उहाँले भन्नुभयो ।

एक कृषकले वार्षिकरूपमा रु दुई लाखदेखि तीन लाखसम्म माछापालन व्यवसायबाट आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । पाँच रोपनी क्षेत्रफलमा माछापालन व्यवसाय गर्नुभएका पन्तले वार्षिक करीब तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

तानसेन नगरपालिका–१२ बौघापोखराथोकका टङ्कनाथ घिमिरेले पाँच वर्ष अघिदेखि दुई कट्ठा क्षेत्रफलमा माछापालन व्यवसाय गर्दै आउनुभएको छ । उहाँ जिल्लामै यस व्यवसायमा सफल व्यवसायीका रूपमा चिनिनुहुन्छ । घिमिरेले माछाको व्यापार राम्रो हुन थालेपछि अहिले फिसिङ रिसोर्ट सञ्चालन गर्नुभएको छ । “माछाको माग राम्रो हँुदै गएपछि अहिले आफ्नै रिसोर्टबाट माछा बिक्री गरिरहेको छु” उहाँले भन्नुभयो । तीन लाखको लगानीमा व्यवसाय शुरु गर्नुभएका घिमिरेले वर्षमा खर्च कटाएर करीब तीन लाख बराबरको आम्दानी गर्नुहुन्छ ।

लामो समयसम्म तरकारी खेती गर्नुभएका रामपुरका अगुवा कृषक सूर्यप्रसाद अधिकारीले पनि तरकारी खेती छाडेर माछापालन व्यवसाय थालनी गर्नुभएको छ । “माछा पालेर राम्रो आम्दानी हुने सम्भावना देखेर तरकारी खेती छाडेर अहिले माछापालन व्यवसायमा लागेको छु”, अधिकारीले भन्नुभयो । उहाँले चार रोपनी जग्गामा यसै वर्षदेखि माछापालन व्यवसाय शुरु गर्नुभएको हो ।

यहाँका कृषकले सिल्भर, बिगहेड, कमन, रहु, ग्रास कार्प जातको माछापालन गरेका छन् । सीमसार क्षेत्र पर्ने अन्य बालीको उत्पादन लिन नसकिएको जमीनमा कृषकले माछापालन गरी राम्रो आम्दानी गर्न सफल भएका छन् । जिल्लामा हालसम्म १५६ जना कृषक माछापालन व्यवसायमा आबद्ध छन् । यहाँ छ दशमलव ५५ हेक्टर क्षेत्रफलमा १४१ वटा पोखरीमा व्यक्तिगत तथा सामूहिकरूपमा कृषकले माछापालन व्यवसाय गर्दै आएको पाइएको छ ।

जिल्लामा वार्षिकरूपमा २० देखि २५ मेट्रिक टन माछा उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र पाल्पाका कृषि अर्थविज्ञ ज्ञानकुमार यादवले जानकारी दिनुभयो । “व्यवस्थित पोखरी निर्माण गरेर कृषकहरू राम्रो आयआर्जन गर्ने गरी माछापालन व्यवसायमा लागेका छन्”, यादवले भन्नुभयो ।

जिल्लाको तानसेन, रामपुर, रैनादेवी छहरा, गल्धा, दोभान, पोखराथोक, बौघापोखराथोक, सोमादी, कसेनी, अर्गलीलगायतका क्षेत्रका कृषक यस व्यवसायमा आबद्ध छन् । बिक्रीका लागि बजार सहज भए पनि भैरहवाबाट माछाका भुरा ल्याउन समस्या परेको सम्बद्ध कृषक गुनासो गर्छन् । सुशीला रेग्मी, रासस

प्रतिक्रिया