इलेक्ट्रोनिक्स एक्स्पो २०७५ को आयोजना

मनिषा थापा

भक्तपुर, ५ पुस (रासस) : भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घ भक्तपुरले तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो २०७५ को आयोजना गर्ने भएको छ ।

२०६८ साल आज सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै सङ्घका अध्यक्ष पुण्यराम खाताखोले आगामी पुस २६ गतेदेखि ३० गतेसम्म भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनी क्षेत्रफलमा बृहत्रुपमा पाँचदिने इलेक्ट्रोनिक्स एक्स्पो अर्थात् इलेक्ट्रोनिक्स व्यापार मेलाको आयोजना गर्ने भएको जानकारी दिनुभयो ।

सङ्घले यसअघि २०६८ पुस ८ देखि १० गतेसम्म पहिलो, २०७१ फागुन ५ देखि ९ गतेसम्म दोस्रो मेला सफलतापूर्वक सम्पन्न गरिसकेका बताउँदै यस वर्षको मेलामा पनि उपभोक्तालाई सरलरुपमा एकै ठाउँमा इलेक्ट्रोनिक्सका सबै सामग्री पाउने गरी मेला आयोजना गर्न लागेको बताउनुभयो ।

कार्यक्रम संयोजक एवं सङ्घका उपाध्यक्ष माधवप्रसाद प्रजापतिले मेलामा १७० भन्दा बढी कक्ष रहने बताउनुभयो । जसमा १०० वटा कक्ष विद्युतीय सामग्रीको र बाँकी ७० वटा भक्तपुरका मौलिक उत्पादनतर्फ हस्तकला, काष्ठकला, अटोमोबाइल, सुनचाँदी र नेवारी खाजालगायतका कक्ष रहनेछन् ।

मेलामा विभिन्न ब्राण्डका मोबाइल, टिभी, फ्रिज, बासिङ मेशिन, एसी, कुकिङ रेञ्ज, कम्प्युटर, ल्यापटप, माइक्रोओभनलगायत ३०० भन्दा बढी प्रकारका विद्युतीय सामग्रीको बिक्री तथा प्रदर्शनी गरिने भएको छ । त्यसैगरी भक्तपुरबाट उत्पादन हुने विभिन्न हस्तकलाको सामग्री, रेडिमेड, लुगा तथा कपडा, घरायसी सामान, फर्निचर अटोमोबाइललगायतका सामग्रीको बिक्री तथा प्रदर्शनी हुने भएको छ ।

भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे र सिन्धुपाल्चोकका दुई लाखभन्दा बढी उपभोक्ताले अवलोकन गर्ने अनुमान गरिएको मेलामा उपभोक्तालाई १५ देखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संयोजक प्रजापतिले जानकारी दिनुभयो ।

मेलामा करीब रु ७० लाख खर्च हुने अनुमान गरिएको जानकारी दिँदै उहाँले रु ५० करोडको कारोवार हुने अनुमान गरिएको बताउनुभयो । भक्तपुरको पर्यटन तथा सांस्कृतिक प्रवद्र्धनमा टेवा पु¥याउने, गुणस्तरीय सामान एकै थलोमा सहज र सुलभरुपमा उपलब्ध गराइने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रतिक्रिया