बुटवल, ५ पुस: प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मेला–महोत्सवलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभएको छ । रुपन्देही व्यापार सङ्घको आयोजनामा आजदेखि बुटवलमा शुरु भएको लुम्बिनी एक्स्पो २०७५ तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले मेला महोत्सव मलुक बाहिरबाट आयात गरिने सामान बेच्ने थलोका रुपमा स्थापित हँुदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले बुटवल भैरहवालाई प्रदेशको मात्र नभई मुलुककै प्रमुख आर्थिक केन्द्र बनाउने गरी सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री पोखरेलले केही महीनापछि सञ्चालनमा आउने गौतमबुद्ध विमानस्थल हुँदै आउने पर्यटकले ल्याउने अवसर सबैभन्दा पहिले यहाँका उद्योगी व्यवसायीले लिनसक्नुपर्ने र त्यसका लागि तयारीमा लाग्न आग्रह गर्नुभयो ।
विगतमा सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्ने विषयलाई असम्भव ठानिएको स्मरण गर्नुहँुदै उहाँले असम्भव भनी प्रचार गरिएका शान्ति प्रक्रियादेखि हालसम्मका सम्पूर्ण राजनीतिक परिवर्तनलाई वर्तमान नेतृत्वले सम्भव बनाए देखाइदिएको बताउनुभयो । उहाँले एक्स्पोमा ऐतिहासिक जीतगढीमा भएको नेपाल अङ्ग्रेज युद्धको झल्को दिने प्रदर्शनले यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । लुम्बिनी आउने पर्यटकको बसाई लम्ब्याउन योजना बनाएर अघि बढ्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले गर्नुपर्ने कामको लागि सुझाव दिन व्यवसायीलाई मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले जनताको सङ्घर्षबाट प्रदेश पाँच पहाड र तराईलाई अलग्याउने प्रयत्नबाट जोगिएको भन्दै प्रदेश विकासमा वर्तमान प्रदेश सरकारले नमूनाकैरुपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपालका लागि श्रीलङ्कका राजदूत स्वमा परेराले लुम्बिनी, तिलौराकोट, देवदह, रामग्रामको प्रवद्र्धन गर्नसके नेपालले पर्यटनका माध्यामबाट फाइदा लिनसक्ने बताउनुभयो । उहाँले दुई देशका राष्ट्र प्रमुखको भ्रमणले पछिल्लो समय नेपाल–श्रीलङ्काबीचको सम्बन्ध थप उचाइमा पुगेको बताउँदै दुई देशबीच व्यापार बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
-रासस