मास्टर डिग्रीको सर्टिफिकेट घरमा थन्काएर अटोरिक्सा चलाउँदै यी पुर्वशिक्षक, भन्छन, ‘रिक्साबाट महिनाको ५० हजार चोखो कमाइ हुन्छ’

मनिषा थापा

बुटवल : गुल्मीको रेसुङ्गा नगरपलिका–२ तम्घास धागीथुका ३४ बर्षिय सन्तोष पन्थीले
समाजशास्त्रमा एमए उत्तीर्ण गरेका छन् । एमए सकेर कुनै बेला राजधानीको एक क्याम्पसमा समेत पढाउँथे समेत गर्दथे।

त्यही पुर्वशिक्षक अहिले रिक्सा ड्राइभर भएका छन् । उनले केही महिनादेखि सदरमुकाम तम्घासमा अटोरिक्सा चलाएर यात्रु ओसार पसार गरिरहेका छन् ।

करिब नौ बर्षअघि मास्टर डिग्री सकेका पन्थी राजधानीको एनएम कलेजमा पार्ट टाईम पढाउने गर्थे । क्याम्पस पढाउँदा प्रति पिरियड दुई सय ५० रुपैयाँ कमाइ हुन्थ्यो । तर, त्यो कमाइले उनलाई खर्च चलाउन मुस्कील भयो । बरु उनलाई जिल्लामै केही गर्ने सोच आयो । घर फर्किए ।

साथीहरुसँग मिलेर करिव ७ बर्षसम्म तम्घास लाँकुरीमञ्मा फास्टफुड सञ्चालन गरे । स्थानीय तहको गठनपछि सदरमुकामका अन्य होटल, रेष्टुरेन्टजस्तै उनको रेष्टुरेन्ट पनि टाट पल्टियो । व्यवसाय नचलेपछि फास्टफुड चलाउन बनाएको टहरो भत्काए । समानहरु बेचे । अब के गर्ने ? उनले उपाय खोजे । त्यसक्रममा स्थानीय बजारमा सवारी साधनकोे अभाव भएको देखे । त्यो अभाव पुरा गर्न अटोरिक्सा किनेर आफै चलाउने उनले निधो गरे ।

अन्ततः बुटवल पुगेर ५ लाख मुल्यको अटोरिक्सा किनेर केहि दिनसम्म सिके । पन्थी भन्छन, ‘तेल खर्च कटाएर पनि महिनाको ५० हजार चोखो कमाइ हुन्छ ।’
उनले स्कुले जीवनदेखि नै सरकारी जागिर खाने सपना नसाँचेका भने होइनन् । तर नमिलेपछि डिग्री गरेको सर्टिफिकेट दराजमा थन्काएर स्वरोजगारीतर्फ लाग्नु उनका सामु अर्को विकल्प थिएन ।

‘हामी नेपालीहरु आफ्नो गाउँ–ठाउँमा काम गर्न लजाउने तर विदेशमा भने ट्यालेट पनि सफा गर्न तयार हुने भएका कारण बेरोजगारी बढेको हो । काम गर्न लजाउनु हुँदैन, श्रमको सम्मान गरौ त्यसो गर्न सके कोही पनि बेरोजगार बस्नु पर्दैन’ उनको बुझाइ र सुझाव छ ।

पन्थीको मात्रै होईन, डेढ महिनाको अन्तरालमा तम्घासमा ९ वटा अटो रिक्सा चल्न थालेका छन् । ती मध्ये रेसुङ्गा नगरपालिकामा ७ वटा दर्ता भएका छन् । ती सबै अटोरिक्साका चालकहरु कम्तीमा कक्षा १२ सम्म पढेका छन् ।

अर्का रिक्सा चालक हुन् दयासागर पन्थी । उनले पनि स्नातक उत्तीर्ण गरेका छन् । दयासागरले पनि स्वरोजगारीका लागि माध्यम अटोरिक्सालाई नै रोजेका छन्। सिमलटारी, धुर्कोट, ईस्मा, मुसिकोट र ईन्द्रगौडा सम्मको सडक ग्राभेलिङ्ग भई कालोपत्रे हुने क्रममा रहेकोले अटोरिक्साको माग बढ्दो छ । बिदेश जाने खर्च अटोरिक्सामा लगाउन सके कम्तीमा महिनाको ५० हजार स्वदेश मै बसेर कमाउन सकिने दुवै युवाहरुको भनाई छ ।

बुटवललमा दर्जनौ महिलाहरुले अटोरिक्सा चलाएर मासिक ६० देखि ७० हजार सम्म कमाउने गरेका छन् । अर्घाखाँचीमा २ सय भन्दा बढि ट्याक्सी र त्यति नै मात्रमा अटोरिक्सा सञ्चालन गरेर स्वरोजगार बनेका छन् ।

प्रतिक्रिया