गाईघाट दिक्तेल सडक सञ्चालन

कृष्ण रोकाया

गाईघाट, उदयपुर, ७ पुस ; उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा बेलिब्रिज जडानपछि उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलसम्म प्रत्यक्ष यातायात सञ्चालन भएको छ ।

मङ्सिर १५ गतेदेखि जडान शुरु गरिएको उक्त बेलिब्रिज बिहीबार सम्पन्न भएपछि शुक्रबारदेखि औपचारिक रुपमा गाईघाट दिक्तेलसम्म प्रत्यक्ष यातायातका साधन सञ्चालन हुन थालेको गाईघाट दिक्तेल सडक कार्यालयले बताएको छ ।

वर्षायाममा सुनकोशी नदीमा पानीको बहाव बढेसँगै छ महीनाअघि खोलिएको उक्त बेलिब्रिज हिउँद महीना लागेसँगै जडान गरेर यातायात सञ्चालन भएको हो । ५० मिटर लम्बाइ र छ मिटर चौडाइको उक्त बेलिब्रिज जडान कार्य सम्पन्न भएको कारण अब छ महीनासम्म बन्द रहेको गाईघाट–दिक्तेल सडकखण्डमा पुनः यातायातका साधन सञ्चालनसँगै यात्रुको जनजीवन सहज भएको बेलिब्रिज जडान कम्पनीका सञ्चालक प्रेम कार्कीले बताउनुभयो ।

गाईघाटदेखि दिक्तेलसम्म १५८ किलोमिटर लम्बाइ रहेको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशीमा अहिलेसम्म पनि पक्की पुल निर्माण हुन सकेको छैन । पक्की पुल निर्माण नहुँदा हिउँदमा छ महीना बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र वर्षायामसँगै बेलिब्रिज खोलेपछि छ महीना यातायात बन्द हुँदै आएको यातायात व्यवसायी बताउँछन् ।

जिल्ला अस्पताल प्रसूति डाक्टरविहीन

सदमुकाम गाईघाट बोक्सेमा रहेको उदयपुर जिल्ला अस्पतालमा एक महीनादेखि प्रसूतिसम्बन्धीको डाक्टर नभएपछि अहिले अधिकांश प्रसूतिसम्बन्धी बिरामीले दुःख कष्ट भोग्नुपरेको छ ।

अस्पतालका प्रसूतिसम्बन्धी चिकित्सक पवन साह र अर्का चिकित्सक विशाल देवको सरुवा भएर अन्यत्र गएसँगै एक महीनादेखि उदयपुरका प्रसूतिसम्बन्धी बिरामीले उपचारको लागि एम्बुलेन्समा दशौँ हजार खर्च गरेर धरान तथा विराटनगर जान बाध्य हुनु परेको बिरामीका आफन्त बताउँछन् ।

चिकित्सकको अभावमा जिल्ला अस्पतालमा प्रसूतिसम्बन्धी शल्यक्रियासहितको उपचार हुन नसकेपछि अहिले जिल्लाको पहाडी क्षेत्रसहित पूर्वी र पश्चिमी क्षेत्रका बिरामी महँगो खर्चमा विराटनगर जान बाध्य हुनुपरेको त्रियुगा नगरपालिका–१ का जनार्दन कार्की बताउनुहुन्छ ।

चिकित्सक सरुवा हुने बित्तिकै आफूले प्रदेश सरकारका सम्बन्धित मन्त्रीलाई तुरुन्त अर्को डाक्टर व्यवस्था गरिदिन अनुरोध गरे पनि अहिलेसम्म व्यवस्था हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष खड्ग परियारले बताउनुभयो । रासस

प्रतिक्रिया