पातबाट टपरी बनाउने सीप प्रदान

कृष्ण रोकाया

दमौली, ७ पुस : विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई सालको पातबाट बनाइने दुना टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले तनहुँको ब्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले सीप प्रदान गरेको छ ।

विद्यालयमा कक्षा ६ देखि १० सम्मका अध्ययनरत छात्रालाई विद्यालयले सालको पातबाट दुना, टपरी बनाउने सीप प्रदान गरेको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताउनुभयो । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित छात्रालाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको बस्नेतले जानकारी दिनुभयो ।

प्रअ बस्नेतले कक्षा ६ देखि १० सम्म अध्ययनरत १५० जना छात्रालाई जीवनपयोगी सीप प्रदान गरिएको बताउनुभयो । ‘‘नेपाली परम्परा अनुसारको कला सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित छात्राहरुलाई सालको पातबाट दुना, टपरी बनाउन सिकाएका हौँ,’’ उहाँले भन्नुभयो, “यसले नेपाली कला र संस्कृति जीवन्त राख्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

विद्यालयमा अध्यापन गराउने १० शिक्षिका र विद्यालयका चार अभिभावकबाट छात्रालाई सीप प्रदान गरिएको हो । विद्यालयस्तरबाटै सीप सिकाउँदा छात्राहरुलाई पछि व्यावहारिक रुपमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

कक्षा १० मा अध्ययनरत सुस्मिता चौधरीले पहिलो पटक सालको पातबाट दुना, टपरी बनाउने सीप सिक्न पाएकामा खुशी व्यक्त गर्नुभयो । ‘‘विद्यालयमा सिकिएको यो सीपले घरायसी र व्यवहारिक जीवनमा उपयोगी हुने ठानेकी छु,’’ उहाँले भन्नुभयो ।

सो अवसरमा नेपाली मौलिक कला र परम्पराअनुसार सालको पातबाट निर्माण गरिने टपरी, दुना, धागो र कपासबाट बत्ती कात्ने जीवन उपयोगी सीप छात्राहरुलाई सिकाइएको थियो । पछिल्लो समय कागज तथा आल्मुनियमका प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवा पुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि छैन् । रासस

प्रतिक्रिया